सरकारी सवारीमा फागुनसम्म अनिवार्य इम्बोस्ट नम्बर प्लेट  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी सवारीमा फागुनसम्म अनिवार्य इम्बोस्ट नम्बर प्लेट 


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । सरकारी सवारी साधनले अनिवार्य रूपमा इम्बोस्ट नम्बर प्लेट राख्नु पर्ने निर्णय गरिएको छ । सबै निजी र सरकारी सवारी साधनले इम्बोस्ड नम्बर प्लेट हाल्नु पर्ने यसअघिको निर्णयले ठुलो विवाद निम्त्याएपछि पछि हटेको सरकारले अहिले सरकारी सवारीलाई अनिवार्य गरेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कात्तिक २८ नेपालभर सञ्चालन भएका सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ट नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो । सम्पूर्ण सरकारी, संस्थान, सङ्घ प्रदेश र स्थानीय तहका सवारी साधनहरूमा आगामी २०७९ फागुन मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जोडिसक्नु पर्ने मन्त्रालयले निर्णय गरेको हो ।

 ‘उच्च सुरक्षा तथा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारी साधनको चोरी निकासी, राजस्व छली र अपराधीकरण नियन्त्रण हुने देखिन्छ । मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची-२ को क्र.स.१४ अनुसार यस्तो निर्णय गरेको हो,’ यातायात व्यवस्था विभागद्वारा जारी सूचनामा भनिएको छ ।

सो अनुसार नजिकको यातायात व्यवस्था कार्यालयमा गई राजश्व विवरण तिरी इम्बोस्ट नम्बर प्लेट जडान गर्न सकिन्छ । काठमाडौँ उपत्यकाको हकमा यातायात व्यवस्था कार्यालयमा गई राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग मिनभवनमा गई नम्बर प्लेट जडान व्यवस्था गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस