भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेलाई जेल हाल्छु : ज्ञानेन्द्र शाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेलाई जेल हाल्छु : ज्ञानेन्द्र शाही


८ मंसिर २०७९, बिहिबार


जुम्ला । जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने बताए ।

निर्वाचित भएपछि विजय र्‍यालीको क्रममा खलङ्गाको बाल मन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहीले जुम्ली मतदाताले ठुलो आसा र भरोसाले दिएको मतलाई निराशामा परिणत हुन नदिने बताए ।

उनले भने, ‘केन्द्रमा उठेको जुम्लाको आवाजलाई दबाइएको छ । जुम्लाको प्रतिनिधित्वलाई सौतेनी व्यवहारले हेरिन्छ । त्यो सौतेनी व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छु ।’

अहिलेसम्म सांसद जितेर गएपछि गाउँ फर्कँदैनन् भन्ने आरोपलाई चिर्दै शाहीले भने जुम्लाका सबै स्थानीय तहमा पुगेर मतदाताको दुस्ख पीडा सुन्ने बताए । उनले भने, ‘म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन । अब उप्रान्त जुम्लामा कसैले भ्रष्टाचार गर्छु भनेर कल्पना मात्र गर्‍यो भने त्यसलाई जेल हाल्छु । ढुक्क हुनुस्।’

उनले यस क्रममा आफूलाई काँग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको पनि भोट आएको भन्दै सबैलाई समान व्यवहार गर्ने बताए । ‘साझा एजेण्डा लिएर अघि बढौँ, अब जुम्ला बन्छ । जुम्ला बनाउन सबै तयार छौँ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस