बाजुरा : झडप गर्नेहरू प्रहरीको इन्सास राइफल खोसेर फरार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाजुरा : झडप गर्नेहरू प्रहरीको इन्सास राइफल खोसेर फरार


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । बाजुराको त्रिवेणी-७ स्थित नागेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेबाट झडप सुरु भएको थियो ।

झडप गर्नेहरूमा नेकपा एमाले र काँग्रेसका कार्यकर्ता थिए । झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन् । इन्सास राइफल अझै फेला नपरेको प्रहरी प्रवक्ता (एसएसपी) दान बहादुर कार्कीले बताए ।

आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलायो । प्रहरीले बल प्रयोग गर्दा बाजुराको त्रिवेणीमा नगरपालिका वडा नम्बर-७ मा प्रहरीको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको ज्यान गएको एसएसपी कार्कीले बताए । मृतक वडा नम्बर-९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् । उनी वडा नम्बर-७ का स्थानीय हुन् ।

सन्दीपको घटनास्थलमै मृत्यु भएको हो ।  झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका छन् ।

झडपमा त्रिवेणी नगरपालिका-७ बस्ने ३८ वर्षीय स्वयंसेवक परशुराम उपाध्याय, नेपाली काँग्रेसका प्रतिनिधि ३६ वर्षीय खड्कबहादुर ऐडी र ४८ वर्षका पूर्व वडा अध्यक्ष प्रेम बहादुर थापा घाइते भएका छन् । थापा नेपाली काँग्रेसका पूर्व वडा अध्यक्ष हुन् । त्यस्तै विजयराज उपाध्याय पनि सामान्य घाइते छन् । घाइतेहरूलाई उपचारका लागी सुर्खेतमा पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस