भोट हाल्न घर हिँडेका सर्वसाधारणलाई बाटो छेकेर घण्टौँ अवरोध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भोट हाल्न घर हिँडेका सर्वसाधारणलाई बाटो छेकेर घण्टौँ अवरोध


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । पूर्वीनवलपरासीको मध्यबिन्दु नगरपालिकाको चोरमाराबाट पहाडी क्षेत्रमा भोलि हुने निर्वाचनमा मतदान गर्न जाँदै गरेका केही सर्वसाधारणलाई बाटो छेकेर अवरोध गरिएको छ। 

स्थानीय हाटबजार चोरमारा बजारबाट घरका लागि खाद्य सामग्री लत्ताकपडा किनेर घर जाँदै गरेका करिब तीन दर्जन सर्वसाधारणलाई बाटोमा मदिरा सेवन गरेर हिँड्दै गरेका केही युवाहरूले रोकेर प्रहरीलाई बुझाएका थिए।

दुईवटा जिपमा जाँदै गरेका महिला, बालबालिकासहितका तीन दर्जन सर्वसाधारणलाई चुनावमा चामल वितरणका लागि लगिएको भन्दै ती युवाले बाटो छेकेका थिए।

दिउँसो साढे २ बजेदेखि रोकिएका उनीहरूलाई चोरमारा प्रहरी चौकीमा ल्याएर राखिएको थियो।

उनीहरूको बारेमा सोधपुछ र अनुसन्धानपछि उनीहरूले चुनावलक्षित सामग्री नभई घरायसी प्रयोजनका लागि सामग्री लगिँदै गरेको थाहा पाएपछि साँझ साढे ७ बजे प्रहरीकै सुरक्षामा घरतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

शनिबार चोरमारा बजारमा हाट बजार लाग्ने गर्दछ। केही पहाडबाट हाटबजार गर्न झरेका बासिन्दा थिए भने केही चोरमारा र अरुणखोलाबाट चुनावका लागि मतदान गर्न पहाड उक्लँदै थिए। पीडित महिला दिलमाया रानाले आफूहरूलाई प्रहरीले विनाकारण ५ घण्टा रोकेर राखेको तर बाटोमा मदिरा सेवन गरेर हिँड्नेलाई भने प्रहरीले छाडेको आरोप लगाइन्। 

उनीहरूलाई साँझ साढे ७ बजे छाडिएको छ। उनीहरू अहिले घरतर्फ लागेका छन्। उनीहरू चोरमाराबाट सवारीसाधनमा ५ घण्टाको दुरी पार गरेर हुप्सेकोट गाउँपालिका ५ हुप्सेकोटमा पुग्नुपर्दछ।

Tags :
प्रतिक्रिया दिनुहोस