एक हप्तामा बने ३ पुल, मतदान केन्द्र आउजाउ गर्न सहज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एक हप्तामा बने ३ पुल, मतदान केन्द्र आउजाउ गर्न सहज


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ हाटसिंजामा जाने काठेपुल निर्माण भएको छ । अविरल वर्षाले बगाएको हिमा नदीमाथिका तीन वटा पुल नेपाली सेना, प्रहरी र स्थानीयले एक हप्तामा निर्माण गरेका हुन् ।

पुल बनेपछि वडा कार्यालय, स्वास्थ्य चौकी, आँखा अस्पताल, पशु शाखा, कृषि शाखा, कालिका आधारभूत विद्यालय लगायतमा आउ-जाउ गर्न सहज भएको छ । कालिका आधारभूत विद्यालयमा मतदान केन्द्रसमेत तोकिएको छ ।

गत असोज तेस्रो साता आएको बाढीपहिरोले त्यहाँ जाने पुल बगाएपछि आउ-जाउ गर्न कठिन भएको थियो ।

वडाध्यक्ष सूर्यमणी हमालले नेपाली सेना, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयको सहयोगमा ३७ मिटर लामा ३ वटा काठेपुल एक हप्तामा निर्माण भएको जानकारी दिए । उनका अनुसार काठ काट्ने काम र खाजा खर्च बाहेक अन्य सबै सहयोग नेपाली सेना, प्रहरी, म्यादी प्रहरी र स्थानीयले गरेका छन् ।

निर्वाचनमा खटिएको नेपाली सेनाका लप्टन आदित्यजंग शाहीको नेतृत्वमा ३९ जनाको टिमले मतदान केन्द्र जाने पुल बनाउन स्वयंसेवकको भूमिका निर्वाह गरेको नेपाली सेना नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाले जानकारी दिए ।

छोटो अवधिमा पुल बनाएर आउजाउ गर्न सहज बनाइदिएको भन्दै वडापालिकाले नेपाली सेना, प्रहरी र सहयोगीहरूलाई सम्मान गरेको छ ।

सो मतदान केन्द्रमा ५९५ जना मतदाता रहेका मतदान अधिकृत हिमालय साउदले जानकारी दिए । उनका अनुसार पुल लगाएपछि सो क्षेत्रमा मतदाताहरू सजिलै आउजाउ गर्न सक्ने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस