निर्वाचन ‘बहिष्कार’ गर्ने समूहमाथि निगरानी बढाउन निर्देशन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

निर्वाचन ‘बहिष्कार’ गर्ने समूहमाथि निगरानी बढाउन निर्देशन


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । उच्च स्तरीय निर्वाचन सुरक्षा समितिले प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचन ‘बहिष्कार’ गर्ने समूहमाथि कडा निगरानी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचित सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचित आयुक्त दिनेशकुमार थपलियासहित सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । सो समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्याल हुन् ।  

बैठकमा शान्तिसुरक्षा मिलाउने आचारसंहिता पालना गराउने विषयमा छलफल भएको एकजना उच्च सुरक्षा अधिकारीले बताए । ती अधिकारीले भने,‘चुनाव बहिष्कार गर्ने समूहले विस्फोट गराउन सक्ने हुनाले त्यस्ता समूहलाई कडा निगरानी गर्न गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।’ मंगलबार निर्वाचन सुरक्षाबारे भएको छलफलमा गृह सचिव, अर्थ सचिव, रक्षा मन्त्रालयका सचिव र निर्वाचन आयोगका सबै आयुक्तहरू सहभागी थिए । सुरक्षा समितिले आचारसंहिता कडाइपूर्वक पालना गराउन गृह मन्त्रालयलाई भनेको छ । 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी (समाजवादी)ले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । नेपा प्रहरीका प्रवक्ता (डिआइजी) टेक प्रसाद राईका अनुसार प्रहरीले चुनाव बहिष्कार गर्न सक्ने ३१ समूहमाथि निगरानी गरिरहेको छ । बुधवार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भोजपुरको तिवारीभञ्ज्याङमा बम विस्फोट गराएका छन् । सत्ता गठबन्धनको सभास्थल नजिकै विप्लव समूहका कार्यकर्ता सुमन श्रेष्ठले बोकेर गएको बम आफैँ विस्फोट भएको थियो । विस्फोट हुँदा सुमनको खुट्टामा चोट लागेको भोजपुरका डिएसपी शरत थापा क्षेत्रीले बताए । 

भोजपुरको अरुण गाउँपालिका-३ स्थित तिवारी भन्ज्याङमा गठबन्धनको कार्यक्रम शुरु हुँदै गर्दा उनी बम बोकेर सभास्थलमा गएका हुन् । बुधवार दोलखाको चरिकोटमा पनि विस्फोट भएको छ । यसैबिच, बुधवार आइजिपी धिरज प्रताप सिंहले देशभरका सुरक्षा अधिकारीहरूलाई भिडियो कन्फिडेन्स मार्फत ब्रिफिङ गरेका छन् । आइजिपी सिंहले मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विरोधी गतिविधि गर्नेहरूविरुद्ध ‘निर्मम’ हुन निर्देशन दिएको ब्रिफिङमा सहभागी एकजना सुरक्षा अधिकारीले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस