सुकुम्वासी बस्ती हटाउने निर्णयविरुद्ध २२ संस्थाले काठमाडौँमा प्रदर्शन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुकुम्वासी बस्ती हटाउने निर्णयविरुद्ध २२ संस्थाले काठमाडौँमा प्रदर्शन गर्ने


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । बागमती लगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउने निर्णय विरुद्ध भूमिहीनहरूले काठमाडौँमा प्रदर्शन गर्न लागेका छन्।

काठमाडौँ महानगरपालिकासँगको समन्वयमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्वासी बस्ती हटाउने निर्णय गरेको थियो। समितिले मङ्सिर ४ गतेभित्र बागमती लगायत काठमाडौँका नदी किनारका घर तथा टहरा खाली गर्न समय दिएको छ।

समितिले जारी गरेको सूचनामा तोकिएको समयभित्र खाली नगरे काठमाडौँ महानगरको सहयोगमा घर तथा टहरा भत्काइउने उल्लेख छ।

यसका विरुद्ध नेपाल महिला एकता समाज सहित २२ संस्थाले मङ्सिर १ गते दिउसो साढे १२ बजे देखि काठमाडौँमा प्रदर्शन गर्न लागेका हुन्। सुकुम्वासीको वैकल्पिक व्यवस्था नगरी घर तथा टहरा हटाउने निर्णय विरुद्ध प्रदर्शन गर्न लागिएको समाजले जनाएको छ।

भूमिहीनसँग सम्बन्धित संस्थाहरूले साङ्केतिक विरोध स्वरूप प्रदर्शन गर्न लागेको जनाएका छन्। उनीहरूले घर तथा टहरा भत्काउने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी  दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस