दश वर्षपछि पूर्ण क्षमतासहित हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

दश वर्षपछि पूर्ण क्षमतासहित हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा 


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगले अहिले दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ ।

यसअघि, उद्योगले ३०० देखि ४०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । 

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलोपटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट बिक्री वितरण सुरु गरिने उनको भनाइ छ । 

हाल सिमेन्ट प्याकिङ गर्ने कार्यसमेत सुरु भइसकेको छ । कोइलाको अभावको कारण विगत तीन महिनादेखि बन्द रहेको उद्योग दुई हप्ताअघि सञ्चालनमा आएको हो । 

कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ । भारत, भुटान र इण्डोनोसियालगायतका देशबाट कोइला आउन थालेपछि उत्पादन सुरु भएको हो । 

उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि रु ८० करोडदेखि एक अर्ब र नयाँ प्लान्ट निमार्णका लागि रु पाँच अर्बदेखि रु आठ अर्ब खर्च हुने देखिएको छ । उद्योगमा हाल २१८ जना कर्मचारी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस