नेपाल बैङ्क : असफलताको नमिठो पाठदेखि सफलताको कथासम्म « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल बैङ्क : असफलताको नमिठो पाठदेखि सफलताको कथासम्म


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपालको पहिलो बैङ्क कुन होला ? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन्, नेपाल बैङ्क ।

मुलुकको नामबाटै राखिएको यो बैङ्कको आफ्नै गौरवपूर्ण इतिहास छ । नियामक निकायका रूपमा रहेको नेपाल राष्ट्र बैङ्कभन्दा पनि जेठो यस बैङ्कले अनेकन घुम्ती, मोड र सुख दुःख व्यहोरेको छ । बैङ्किङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैङ्क पछिल्ला दिनमा भने अन्य निजी क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ ।

सो बैङ्कका वित्तीय विवरणले पनि अब सबल संस्थाका रूपमा नेपाल बैङ्क आफ्नो गन्तव्यमा स्पष्ट छ भन्ने सन्देश दिएको छ । विसं १९९४ देखि २०१३ सम्म देशको केन्द्रीय बैङ्कको भूमिका समेत निर्वाह गरेको गौरवपूर्ण इतिहास समेत बोकेको छ ।

नेपाली बजारमा भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैङ्कले खेलेको भूमिका इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएका छन् ।

विसं १९९४ कात्तिक ३० गते सोमबार लक्ष्मीपूजाका दिन स्थापना भएको सो बैङ्क आजदेखि ८६ वर्षमा प्रवेश गरेको छ । नेपालको समग्र आर्थिक एवं वित्तीय क्षेत्रको एउटा ऐनाका रूपमा रहेको बैङ्कले विगतमा अनेकन आरोह अवरोह भोगेको छ ।

बैङ्कको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गरेका थिए । विश्वव्यापी रूपमा बैङ्किङको अभ्यास धेरै पहिले भए पनि नेपालमा भने २०औँ शताब्दी कुर्नुपरे पनि नेपालको नामसँगै जोडिएको यो बैङ्क सार्वजनिक निजी साझेदारीमा ढाँचामा सुरु भएको पहिलो वित्तीय संस्था हो ।

स्थापना गर्दा बैङ्कमा १० जना लगानीकर्ता थिए । सुरुवाती वर्षमा रु आठ लाख ४२ हजार चुक्तापूँजी र १७ लाख निक्षेपबाट सुरु भएको बैङ्कले गत असोज मसान्तसम्म एक खर्ब ९७ अर्ब बराबर निक्षेप सङ्कलन गरेको छ । त्यस्तै एक खर्ब ७३ अर्ब ५४ करोड बराबरको कर्जा प्रवाह गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए ।

छयासी वर्ष पहिले सुरु भएको सो बैङ्कको चुक्ता पुँजी हाल १४ अर्ब ४० करोड बराबर छ । हरेक वर्ष मुनाफा कमाउँदै आएको सो बैङ्कको जगेडा कोषमा २१ अर्ब ६८ करोड बराबरको रकम छ । कुनै समय खराब कर्जाका कारण समस्यामा फसेको सो बैङ्कले क्रमशः त्यसलाई व्यवस्थापन गरेर हाल वित्तीय परिसूचकका आधारमा नेपालको बैङ्किङ क्षेत्रको एउटा सशक्त बैङ्कका रूपमा उभिएको छ ।

प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्छन्, ‘हामी अस्तिभन्दा हिजो उन्नत, हिजोभन्दा आज उन्नत र आजभन्दा भोलि उन्नत, गुणस्तरीय, भरपर्दो र अत्याधुनिक बैङ्किङ सेवा उपलब्ध गराउन सदैव प्रयत्नशील छौँ ।’

बालक, वृद्ध, प्रौढ हुँदै ज्येष्ठ नागरिकको रोजाइमा रहेको भन्ने दाबी गर्ने बैङ्कमा हाल २३ लाख बढी ग्राहक जोडिएका छन् । एकाध वर्ष पहिलेसम्म पनि निजी क्षेत्रका अन्य बैङ्कले अत्याधुनिक प्रविधिको सुरु गर्दासमेत सो बैङ्क परम्परागत रूपमा नै ढड्डामा नै आधारित थियो । समय बदलियो, बैङ्कको नेतृत्व बदलियो, सोच र योजनामा पनि परिवर्तन आयो । फलस्वरूप नेपाल बैङ्कले पनि आधुनिक बैङ्किङ प्रणाली अवलम्बन गर्‍यो । बैङ्किङ क्षेत्रमा उपलब्ध सबै प्रकारका सेवा उपलब्ध गराइरहेको सो बैङ्कले डिजिटल बैङ्किङ सेवा पनि प्रदान गरेको छ । कूल दुई सय २६ शाखामार्फत कारोबार गर्दै आएको सो बैङ्कको एक सय १९ एटिएम, ५० वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।

आधुनिक प्रविधिसँगै बैङ्कमा युवा पुस्ताको प्रवेशले बैङ्कलाई गतिशील व्यवहारिक र प्रविधिमा पनि उत्तिकै निपूर्ण बनाएको बैङ्कका सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीको भनाइ छ । बैङ्कमा कार्यरत जनशक्तिको औसत उमेर ३६ वर्ष छ भने राज्य अङ्गालेको समावेशीतालाई पनि उत्तिकै आत्मसात् गरेको छ ।

कृषि, पर्यटन, जलविद्युत् जस्ता क्षेत्रमा सरकारको नीति अनुसार प्राथमिकता प्राप्त क्षेत्रमा बैङ्कले उल्लेख्य लगानी गरेको छ । युवा स्वरोजगार, विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई आत्मनिर्भर बनाउनका लागि बैङ्कले अन्य संस्थाको तुलनामा महत्त्वपूर्ण योजना दिएको छ ।

अनौपचारिक क्षेत्रबाट मात्र भइरहेको आर्थिक कारोबारलाई बैङ्किङ प्रणालीमार्फत व्यवस्थित गरी नेपालमा बैङ्किङ संस्कृतिको सुरुवात गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले दिगो आर्थिक आर्थिक विकास र समृद्धिका लागि सरकारले लिएको लक्ष्य र योजनालाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस