काठमाडौँ । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले समाजवादमा राष्ट्रिय सहमति र परराष्ट्र नीतिलाई सन्तुलित बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । यी दुईवटा कुराहरूमा विभिन्न खालका ‘ल्याकिङ’ रहेकाले राष्ट्रिय सहमति हुनुपर्ने उनको तर्क छ ।
शर्माले परराष्ट्र नीतिमा पनि केही समस्या रहेको बताए । सन्तुलित परराष्ट्र नीति कार्यान्वयन गर्नका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको र त्यो पहलमा आफू लाग्ने उनले बताए । रुकुम पश्चिमबाट गठबन्धनको साझा उम्मेदवार रहेका शर्माले रुकुमको सन्दर्भमा समाजवादको यात्रा थालनी भइसकेको बताए ।
शर्माले व्यक्तिको जीवनमा आर्थिक परिवर्तन ल्याउने अभियान भनेकै ‘आर्थिक उत्पादन, रोजगारी र समृद्धि’ भएको बताए । यो मोडेलमा जनताको सहभागिता महत्त्वपूर्ण हुने उनको भनाइ छ । शर्माले समतामूलक समाज निर्माण आजको आवश्यकता रहेको बताउँदै त्यसका लागि रुकुममा सामाजिक सांस्कृतिक अभियान थालनी गरिएको बताए । त्यसले समाजमा हुने हिंसा, विभिन्न खालका विभेदको अन्त्य गर्ने छ भने सामाजिक न्यायमा आधारित समाजवादको आधारको रूपमा रुकुम पश्चिम चिनिने उनको तर्क छ ।
शर्माले कर्णालीको समृद्धिका लागि आफूले विभिन्न पहल गरिरहेको बताए ।
अर्थमन्त्री शर्माले जुम्लाबाट १२ घण्टामा काठमाडौँ पुर्याउने सडक योजना अघि बढाइएको बताए । उनले भने, ‘अहिले दुई दिन लाग्छ । जाजरकोट, रकुम पश्चिम हुँदै पोखरा र पर्वतको डाँडामा सुरुङ बन्ने छन् र त्यो बन्ने बित्तिकै मान्छे २ घण्टामा जुम्लाबाट रकुमको चौरजहारी आउँछ र १२ घण्टामा काठमाडौं पुगिन्छ । त्यसमा मेरो प्रमुखताका साथ पहल भइरहेको छ ।’ शर्माले अबको प्राथमिकता कर्णाली र विकासको केन्द्र पनि कर्णाली बन्ने बताए ।