नेपालको प्रश्न-फ्री भिसामा विदेश जान पाइन्छ भन्नु प्रलोभन हो भने बाटो बनाइदिन्छु भन्नु चाहिँ के हो ?  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपालको प्रश्न-फ्री भिसामा विदेश जान पाइन्छ भन्नु प्रलोभन हो भने बाटो बनाइदिन्छु भन्नु चाहिँ के हो ? 


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निःशुल्क विदेश पठाउँछु नभनी आफूले नेपाल सरकारकै फ्री भिसा फ्री टिकटको नियमबारे जानकारी दिएको बताएका छन् । 

अध्यक्ष नेपालले रौतहटबाट वैदेशिक रोजगारीमा जानेहरूले लाखौँ रुपैयाँ तिर्न परेको गुनासो आफू समक्ष आएपछि सार्वजनिक रूपमै आफूले वैदेशिक रोजगारीमा जानका लागि पैसा तिर्न पर्दैन फ्री भिसा फ्री टिकट पाइन्छ भनेर जानकारी दिएको बताएका हुन् ।

‘रौतहटमा म्यानपावरको नाममा मानिसलाई ठग्ने काम भएको र लाखौँ रुपैयाँ लिएर विदेश पठाउने गरेको जानकारी मलाई आयो, यता सरकारले फ्री भिसा फ्री टिकटको नियम नै बनाएको छ, यही नियमबारे मैले नागरिकलाई प्रस्ट पारेको हुँ’ उनले भने ‘यसोभन्दा प्रलोभनमा पारेको हुन्छ भने बाटो बनाइदिन्छु, अस्पताल बनाउँछु, खानेपानी ल्याउँछु भन्नुचाहिँ प्रलोभन हुँदैन, मैले कुरै बुझिनँ ।’

रौतहटमा भएको एक चुनावी कार्यक्रममा उनले स्थानीय भाषामा नै फ्री भिसा फ्री टिकटको कुरा गएका थिए । अध्यक्ष नेपालले ‘फ्री का मतलब बिना ढेउवा के, बिना ढेउवाको भिसा मिल्ते हे, टिकट मिल्ते हे, काठमाडौँ मे तालिम मिल्ते हे’ भनेर भाषण गरेका थिए । उनको यही अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको छ ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७२ सालमा विभिन्न गन्तव्य देशमा रोजगारीका लागि जाने नेपाली श्रमिकले भिसा तथा टिकटको रकम तिर्न नपर्ने र त्यो रकम रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गर्नुपर्ने निर्णय गरेको थियो । यो निर्णय अनुसार म्यानपावर कम्पनीले बढीमा १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको थियो ।

तर सरकारको यही नियमकै कारण श्रमिक पठाउँदा लाखौँ रुपैयाँ लिने र प्रमाण चाहिँ १० हजार रुपैयाँको मात्रै दिँदा समस्यामा पर्दा श्रमिकलाई न्याय पाउनसमेत कठिनाइ भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस