पीएम कप : दीपेन्द्रको शतकमा आर्मीलाई पुलिसले दियो ३०५ रनको लक्ष्य « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

पीएम कप : दीपेन्द्रको शतकमा आर्मीलाई पुलिसले दियो ३०५ रनको लक्ष्य


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । पीएम कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि ३ सय ५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनायो ।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय इनिङ खेले । दीपेन्द्रले १ सय ४० रन बनाए । उनले १ सय २५ बलमा ११ चौका र ५ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले अविजित रहँदै ९१ रनको अर्धशतकीय इनिङ खेले ।

करण केसी ८ रनमा अविजित रहे । कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए ।

आर्मीका विक्रम सोबले ३ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो । आज दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् ।

यस खेलको विजेताले फाइनलमा एपीएफ क्लबको सामना गर्ने छ । एपीएफ क्लब पहिलो सेमिफाइनलमा बिहीबार मधेस प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश गरिसकेको छ।

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस