बागीको उम्मेदवारी फिर्ता गराउनेबारे सत्तारुढ दलका नेताहरुबीच छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागीको उम्मेदवारी फिर्ता गराउनेबारे सत्तारुढ दलका नेताहरुबीच छलफल


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले निर्वाचनका क्रममा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।

बिहीबार नेपाली काँग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका निर्वाचन परिचालन समितिमा आबद्ध नेताहरूको संयुक्त बैठक बसेर निर्वाचन परिचालनमा देखिएको समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो ।

काँग्रेस निर्वाचन परिचालन सचिवालय समितिको सहसंयोजक दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्ने गरी चुनावी अभियानमा जाने विषयमा छलफल भएको बताए ।

नेकपा माओवादी केन्द्रका नेता महेश्वर दाहालले कतिपय ठाउँमा अझैपनि बागी उम्मेदवारहरु रहेकाले बागी फिर्ता गराउने विषयमा छलफल भएको बताए । त्यस्तै गठबन्धनका नेता, कार्यकर्ताहरू नै चुनावमा सक्रिय नभएको भन्दै उनले त्यस्ता समस्या समाधानका लागि गठबन्धनमा छलफल अघि बढेको पनि उनको भनाइ छ ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट नेताहरू अम्बिका बस्नेत, दिव्यमणि राजभण्डारी र सुरेश आचार्य, नेकपा माओवादी केन्द्रबाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटा सहभागी थिए । नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण केसी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी पनि बैठकमा सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस