विराटनगर । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ ।
यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको हो ।
नेपाली कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले लिम्बुले टिकट पाएको जानकारी दिए । पार्टीको निर्णयपछि टिकट पाएका लिम्बुले मनोनयन दर्ताको तयारी गरिरहेको उनले बताए । निर्वाचन आयोगले निधन भएर खाली रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई आज १ बजेसम्मको समय दिएको छ ।
लिम्बु नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरको नोबेल अस्पतालमा निधन भएको थियो । त्यसपछि निर्वाचन आयोगले नयाँ कार्यक्रम सार्वजनिक गरेर निर्वाचनको प्रक्रिया अघि बढाएको थियो । उक्त क्षेत्रमा मंसिर ४ गते नै मतदान हुनेछ ।