खोपमा भ्रष्टाचार गरेको आरोपमा २ कर्मचारीलाई सजाय, २ ले पाए सफाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खोपमा भ्रष्टाचार गरेको आरोपमा २ कर्मचारीलाई सजाय, २ ले पाए सफाई


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । विशेष अदालतले खोप खरिदमा भ्रष्टाचार गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका दुई कर्मचारीलाई सजाय सुनाएको छ। सोमबार विशेषका न्यायाधीशद्वय श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले दुई कर्मचारीलाई सजाय सुनाएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका तत्कालीन प्रमुख भानुभक्त येङ्देन र लेखा अधिकृत दहलमान राईका साथै नायब सुब्बा हरिकुमार पोखरेल र प्रकाश अधिकारीलाई प्रतिवादी बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। 

आर्थिक वर्ष ०६९-७० मा उनीहरू मिलेर दादुरा रुबेला खोप कार्यक्रमअन्तर्गत निकासा भएको बजेटमा अनियमितता गरेको आरोप अख्तियारको थियो। 

खोपको बजेटमा भ्याक्सिन ढुवानी, कार्यक्रम सञ्चालन, औषधि ढुवानी, सवारीसाधनको इन्धन खर्च र कार्यालय सञ्चालन तथा व्यवस्थापनका सामान खरिद गरेको नक्कली बिल भरपाई पेस गरी भ्रष्टाचार गरेको ठहर विशेषले गरेको छ। ३ लाख ८१ हजार रुपैयाँभन्दा बढीको अनियमितता भएकोमा यसमा दुईजना संलग्न देखिएको विशेषको निष्कर्ष छ। 

विशेष अदालतका अनुसार कार्यालय प्रमुख येङ्देन र लेखा अधिकृत राईलाई सफाइ दिइएको छ। नासु पोखरेल र खोप सुपरभाइजर अधिकारीमाथि अभियोग पुष्टि भएको छ।

पोखरेललाई ३ महिना १५ दिन कैदका साथै २ लाख रुपैयाँभन्दा बढी जरिवाना र उति नै बिगो असुलउपर गर्ने आदेश भएको छ। उनीमाथि २ लाख ४७ हजार रुपैयाँ बिगो र जरिवाना मागदाबी गर्दै मुद्दा दायर भएको थियो। 

यसैगरी, अधिकारीलाई ३ महिना कैद तथा १ लाख ३२ हजार रुपैयाँभन्दा बढी जरिवाना र बिगो असुलउपरको सजाय सुनाइएको विशेष अदालतले जनाएको छ। उनीमाथि झन्डै १ लाख ३४ हजार भ्रष्टाचार गरेको अभियोग दाबी थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस