गठबन्धनले राम्रो काम गरेको छ, हाम्रो जीत पक्का छ : कृष्णप्रसाद सिटौला « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गठबन्धनले राम्रो काम गरेको छ, हाम्रो जीत पक्का छ : कृष्णप्रसाद सिटौला


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस नेता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताएका छन्।

झापाको भद्रपुरमा आज पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नेता सिटौलाले विगत पाँच वर्षमा झापा क्षेत्र नं ३ मा कुनै पनि विकासका गतिविधि नभएका आरोप लगाउँदै विकासप्रतिको चाहना राख्ने जनताले आफूलाई यसपटक मत दिएर विजय गराउने बताए।

संविधान निर्माण भए पनि संविधानले निर्दिष्ट गरेका लक्षित वर्गको हकअधिकार सुनिश्चित नभएको उनले बताए। 

मुलुकमा काँग्रेस र कम्युनिस्ट मिलेर गणतन्त्र ल्याएको उल्लेख गर्दै नेता सिटौलाले राजतन्त्र फ्याँक्ने शक्तिले राजतन्त्रको पक्षधरसँग सहकार्य गर्नु आश्चर्यको कुराको भएको बताए।

उनले विसङ्गतिपूर्ण राजनीतिले देशलाई विकास र निकास दिन नसक्नेसमेत औँल्याए। सत्ता–गठबन्धनबारे चर्चा गर्दै नेता सिटौलाले गठबन्धनका हरेक काम इमानदारीपूर्वक हुने र भइरहेको दाबी गरे।

‘गठबन्धनले राम्रो काम गरेको छ,’ उनले भने, ‘गठबन्धन सफल हुन्छ, हाम्रो जीत पक्का छ।’ समाजका विभिन्न क्षेत्रका जनता आफूलाई जिताउन तल्लीन रहेको नेता सिटौलाको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस