घट्यो भन्सार राजस्व, सरकार दबाबमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

घट्यो भन्सार राजस्व, सरकार दबाबमा


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । सरकारले आयात प्रतिस्थापन गर्न विलासिताका वस्तुमा प्रतिबन्ध लगाउँदा भन्सार राजस्व घटेको छ । तर, चालु आर्थिक वर्ष (आव) २०७९/८० मा आन्तरिक राजस्वले समेत साथ दिन नसक्दा सरकार दबाबमा छ ।

आन्तरिक राजस्व विभागका अनुसार आवको पहिलो तीन महिना (साउन-असोज) मा विभागले लक्ष्यको ९१ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ । असोज महिनासम्म विभागले १ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । सङ्कलन भने ९५ अर्ब ७१ करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ९१ प्रतिशत रहेको विभागले जनाएको छ ।

विभागका अनुसार तीन महिनामा विभागले आयकरतर्फ लक्ष्यको ७८.८९ प्रतिशत मात्र सङ्कलन गर्न सकेको छ । पहिलो त्रैमासमा ३९ अर्ब ९ करोडको लक्ष्य राखिएकोमा सङ्कलन ३० अर्ब ८४ करोड रुपैयाँ मात्र भएको छ । घर बहाल कर ५९.८९ प्रतिशत मात्र सङ्कलन भएको छ । यस अवधिमा ८६ करोड २२ लाख रुपैयाँ घर बहाल कर सङ्कलन गर्ने लक्ष्य राखिएकोमा सङ्कलन ५१ करोड ६४ लाख रुपैयाँ मात्र भएको छ । ब्याज असुली ८३.९८ प्रतिशत भएको छ । १० अर्ब २७ करोड रुपैयाँ ब्याज असुलीको लक्ष्य रहेकोमा ८ अर्ब ६३ करोड रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।

मूल्य अभिवृद्धि कर (आन्तरिक) ८६.७६ प्रतिशत सङ्कलन भएको छ । ३१ अर्ब १४ करोड रुपैयाँ भ्याट सङ्कलनको लक्ष्य राखिएकोमा प्राप्ति भने २७ अर्ब रुपैयाँ भएको छ । अन्तःशुल्क भने लक्ष्य भन्दा बढी ११६.४२ प्रतिशत उठेको छ । २२ अर्ब ५१ करोड रुपैयाँ अन्तःशुल्क सङ्कलनको लक्ष्य रहेकोमा सङ्कलन भने २६ अर्ब २१ करोड रुपैयाँ भएको छ । स्वास्थ्य सेवा शुल्क दोब्बरले बढेको छ ।

तीन महिनामा ९३ करोड ३५ लाख शुल्क सङ्कलनको लक्ष्य रहेकोमा सङ्कलन भने २ अर्ब ८ करोड रुपैयाँ भएको छ । यो २२३.११ प्रतिशत प्रगति हो । शिक्षा सेवा शुल्क ३९ करोड ८४ लाख रुपैयाँ सङ्कलनको लक्ष्य रहेकोमा ४० करोड ४८ लाख सङ्कलन भएको छ । यो लक्ष्यको १०१.६० प्रतिशत हो ।

Tags :
प्रतिक्रिया दिनुहोस