ललितपुर-३ : ह्याट्रिकको तयारीमा पम्फा भुसाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललितपुर-३ : ह्याट्रिकको तयारीमा पम्फा भुसाल


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुर-३ मा सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छिन् । २०६४ र २०७४ सालमा निर्वाचित भएकी भुसाल तेस्रो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने दाउमा छिन् ।

भुसाललाई काँग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले साथ दिएका छन् । ललितपुर-३ मा माओवादी केन्द्र कमजोर भए पनि गठबन्धनको साथ पाएका कारण बलियो दाबेदारी दिएको छ । गठबन्धनमा सहभागी दलले इमानदारीपूर्वक साथ दिएमा भुसालको अवस्था सहज देखिन्छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी तोसीमा कार्की युवा माझ लोकप्रिय रहेका कारण भुसाललाई चुनौती दिन सक्ने कतिपयको आँकलन छ । भुसालको अर्का प्रतिस्पर्धीको रूपमा नेकपा एमालेका अमृत खड्का चुनावी मैदानमा छन् । एमाले बागमती प्रदेश कमिटी सदस्य खड्का राजनीतिक रूपमा भुसाल भन्दा कमजोर प्रोफाइलका नेता हुन् । खड्का २०५४ सालमा सैबु गाविस अध्यक्ष भएपछि व्यापार व्यवसायमा लागेकाले सांसद वा मन्त्री हुने अवसर पाएनन् ।

पहिलो पटक खड्का प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । पहिलो प्रतिस्पर्धामै उनले भुसालका रूपमा ‘हेभी वेट’ प्रतिस्पर्धी पाएका हुन् । अन्तरिम विधायिकालाई समेत जोड्ने हो भने भुसालले तीन पटक सांसद र चौथो पटक मन्त्रीको जिम्मेवारी सम्हालेकी छन् ।

गठबन्धनबाट प्रदेशसभा ‘क’बाट माओवादी नेता राजकाजी महर्जन उम्मेदवार छन् भने प्रदेशसभा ‘ख’बाट काँग्रेसका जितेन्द्र कुमार श्रेष्ठ छन् । एमालेबाट प्रदेशसभा ‘क’मा रघुनाथ महर्जन र प्रदेशसभा ‘ख’मा प्रेमभक्त महर्जन उम्मेदवार छन् ।

आसन्न निर्वाचनका लागि ललितपुर–३ बाट काँग्रेस नेता मदनबहादुर अमात्यले पनि उम्मेदवारीको आकाङ्क्षा राखेका थिए । अघिल्लो निर्वाचनमा विजयी भएका कारण ललितपुर-३ गठबन्धनबाट माओवादीकै भागमा परेपछि आमात्य पछाडि हटेका हुन् ।

२०७४ सालको चुनावमा एमाले–माओवादी गठबन्धन हुँदासमेत एमालेका नेता रघुजी पन्त र सुशीला नेपाल लगायतका नेताले यो क्षेत्रबाट चुनाव लड्न खोजेका थिए । भुसालले छोड्न नमानेपछि एमाले नेताहरू पछि हट्न बाध्य भएका थिए ।

भुसालको जन्मथलो अर्घाखाँची भए पनि राजनीतिक कर्मथलो ललितपुरलाई बनाएकी छन् । विद्यार्थी राजनीतिदेखि नै उनले ललितपुरलाई मुख्य आधार क्षेत्र बनाइन् । विद्यार्थी राजनीतिबाट बिदा भएपछि उनले अर्घाखाँचीलाई छोडेर ललितपुरलाई कर्मथलो बनाइन् ।

यो क्षेत्रबाट २०४८ सालमा माओवादी नेता लीलामणि पोखरेलले चुनाव जितेका थिए । त्यसयता २०५१ र २०५६ सालमा एमाले नेता रघुजी पन्तले लगातार आधार क्षेत्र बनाए । पहिलो संविधानसभा (२०६४ साल)मा भुसालले यसै क्षेत्रबाट जित हासिल गरेकी थिइन् ।

दोस्रो संविधानसभा (२०७० साल)मा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा सामेल भई भुसालले चुनाव बहिष्कार गरिन् । त्यसपछि यस क्षेत्रबाट काँग्रेस नेता अमात्यले चुनाव जितेका थिए । भुसाल मूल पार्टी माओवादी केन्द्रमै फर्किएपछि २०७४ सालको चुनावमा अमात्यलाई पराजित गरेकी थिइन् । भुसालले २४ हजार ३६ मत ल्याउँदा अमात्यले २२ हजार ३२८ मत ल्याएका थिए ।

माओवादी केन्द्रकी उम्मेदवार भुसाल गठबन्धनको साथ पाएर आत्मविश्वासका साथ प्रचारमा जुटेकी छन् । ललितपुरको विकास र समृद्धिका लागि ‘अबको भिजन गुणस्तरीय जीवन’ भन्ने मूल नाराका साथ भुसाल मतदाता समक्ष पुगेकी छन् ।

यस क्षेत्रको मौलिक विशेषतासहित आधुनिकतासँग जोडेर व्यवस्थित सहर बनाउने योजना रहेको भुसालले बताइन् ।

२०७४ सालको चुनावमा राजनीतिक स्थिरता कायम गर्न वाम गठबन्धन बनाए पनि असफल भएको भुसालले स्वीकार गरिन् ।

भुसालले आफ्नो प्रतिस्पर्धीको रूपमा एमालेका उम्मेदवार खड्कालाई लिएकी छन् । स-साना दलका उम्मेदवार चुनावमा उत्रिए पनि खासै चुनौती दिन नसक्ने भुसालले ठोकुवा गरिन् । संघीय संसदमा साना दल वा स्वतन्त्र उम्मेदवारले जितेर खासै काम गर्न नसक्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस