बार्सिलोनाका डिफेन्डर पिके सन्न्यास लिँदै ! « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बार्सिलोनाका डिफेन्डर पिके सन्न्यास लिँदै !


१९ कार्तिक २०७९, शनिबार


काठमाडौँ । बार्सिलोनाबाट तीन सय ९६ खेलमा पिकेले २९ गोल र ३० उपाधि हात पारेका छन्

स्पेनिस खेलाडी जेरार्ड पिके बार्सिलोना क्लबका सदाबहार उत्कृष्ट सेन्टर डिफेन्डर हुन् । शनिवारको खेलपछि डिफेन्डर पिकेले खेल करिअरबाट सन्न्यास लिनेछन् । जुन खेल अल्मेरियासँग हुनेछ । जसका कारण समर्थकले पिकेको आकर्षक रक्षात्मक खेल देख्न पाउनेछैनन् । पिकेले सन्न्यासको तयारी भइसकेको भिडियो पोस्ट गरेका छन् ।

क्लब स्तरीय फुटबल करिअरको सुरुवात उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट गरेका थिए । सन् २००४ देखि ०८ सम्म युनाइटेडमा रहँदा पिकेले १२ खेलमा प्रतिस्पर्धा गरे ।

त्यसपछि उनी बार्सिलोनामा आबद्ध भएका हुन् । ३५ वर्षीय पिकेले सन्न्याससँगै बार्सिलोना क्लब सम्हाल्ने योजना पनि सार्वजनिक गरेका छन् । ‘अब खेलाडीका रूपमा बार्सिलोनामा रहनेछैन,’ पिकेले भिडियोमार्फत भनेका छन्, ‘अबको योजना कमान्ड सम्हाल्ने हो ।’ उनले ढिलो वा चाँडो रूपमा बार्सिलोना फर्कने इङ्गितसमेत गरेका छन् । ‘म बार्सिलोनामा फर्कनेछु, तर खेलाडीका रूपमा होइन,’ उनले भने, ‘म केही फरक भूमिकामा आउनेछु ।’

बार्सिलोनाका समर्थकले भने पिकेलाई क्लबका पदाधिकारीभन्दा पनि खेलाडीका रूपमा हेर्न चाहेको मत राखेका छन् । सन् २००८ मा तत्कालीन प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा उनी बार्सिलोनामा आबद्ध भएका थिए । बार्सिलोनाबाट तीन सय ९६ खेलमा उनले २९ गोल गरेका छन् । यस क्रममा उनले ३० महत्त्वपूर्ण उपाधिसमेत हात पारेका छन् । ग्वार्डिओलाको प्रशिक्षणमा बार्सिलोनाले युरोपियन फुटबलमा दबदबा राख्दा पिके पनि प्रमुख खेलाडी थिए ।

स्पेनिस राष्ट्रिय टोलीमा भरपर्दा डिफेन्डर रहेका पिकेले सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि हात पारे । सन् २०१८ मा पिकेले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनले स्पेनबाट एक सय दुई खेलमा सहभागिता जनाउँदै पाँच गोल गरेका छन् ।

बार्सिलोनामा ग्वार्डिओलाले क्रान्ति ल्याउँदा पिके मुख्य खेलाडी थिए । खेलाडीका रूपमा बार्सिलोनामा सर्वाधिक ट्रफी जित्नेमा पिके तेस्रो स्थानमा छन् । दोस्रो स्थानमा एन्ड्रेस इनिइस्टा छन् । शीर्ष स्थानमा बार्सिलोनाका पूर्व खेलाडी लियोनल मेसी छन् ।

मेसीले बार्सिलोनामा १७ वर्ष बिताउँदा सर्वाधिक ३५ उपाधि जिते । वर्तमान प्रशिक्षक सावीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेलेका छन् । पिकेले बार्सिलोनाबाट आठ स्पेनिस ला लिगा, तीन पटक युरोपिन च्याम्पियन्स लिग र सात पटक कोपा डेल रेय उपाधि हात पारेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस