पश्चगामी तीन दलीय गठबन्धनले प्रतिक्रिया गर्न सक्छ, देश चलाउन सक्दैन : गृहमन्त्री खाँण « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

पश्चगामी तीन दलीय गठबन्धनले प्रतिक्रिया गर्न सक्छ, देश चलाउन सक्दैन : गृहमन्त्री खाँण


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताएका छन्। उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका हुन्।

एकापसमा विचार र सिद्धान्तसमेत नमिल्ने र जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरूबीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनले बताए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका खाँणले आज भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउन पाँचदलीय गठबन्धन बनेको बताए। ‘तीनदलीय गठबन्धन प्रतिगमनको पक्षमा छ। प्रतिक्रिया गर्न सक्छ। तर यसले देश चलाउन सक्दैन,’ उनले भने।

पञ्चायतविरुद्ध विसं २०४६ मा र २०६२/०६३ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि काँग्रेस र वाममोर्चा मिल्दा सफल भएको उल्लेख गर्दै उनले त्यतिबेला नागरिकमाथि दमन गर्नेलाई जनताले राम्रोसँग चिनिसकेको बताए।

लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको उल्लेख गर्दै उनले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरी नेपाली जनतालाई खुसीयालीमा बदल्न पनि पाँचदलीय गठबन्धन आवश्यक रहेको जिकिर गरे।

व्यवस्था बचाएर नागरिकको अवस्था बदल्न तथा पाँच वर्षभित्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँचदलीय गठबन्धनले मात्र सक्ने उनको भनाइ छ। उनले युवामाथि मुलुकले ठूलो भरोसा राखेको बताउँदै युवा ऊर्जाशील भएर उत्पादनमा जोडिनुपर्नेमा जोड दिए। खाँणले अग्रगमन र रूपान्तरणको पक्षमा काम गर्न तरुण युवालाई आग्रह गरे।

Tags :
प्रतिक्रिया दिनुहोस