काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको डडेलधुरा यात्रा स्थगित नगरेको जनाएको छ ।
सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेलधुरा जाने तयारीमा रहेका प्रधानमन्त्री देउवाको यात्रा नगर्न/नगराउन निर्देशन दिने निर्णय गरेको समाचार आएसँगै आयोग उच्च स्रोतले प्रधानमन्त्री जस्तो व्यक्तिलाई रोकेको भन्ने कुरा हल्ला भएको बताए । ‘अनुमति दिएको हप्ता दिन भई सक्यो’ ती स्रोतले भने, ‘निर्वाचन आयोगले कहीँ कतै सकैलाई अवरोध गर्ने काम गर्दैन ।’
निर्वाचन प्रचार प्रसारमा जान पाउने अधिकारीहरूको हकमा निर्वाचन आचार संहिताबमोजिम आयोगको अनुमतिमा सरकारी स्रोत साधनको प्रयोग नगर्ने गरी प्रचार प्रसारमा जान सकिने उनले बताए ।
प्रधानमन्त्रीलगायत मन्त्रीहरूको भ्रमणका सन्दर्भमा आयोगले आफ्नो निर्वाचन तथा अन्य निर्वाचन क्षेत्रमा जानका लागि अनुमति मागिएको भए सरकारी स्रोत साधनको प्रयोग नगरी जान अनुमति दिई सकिएकोसमेत उनले जानकारी दिए ।
प्रधानमन्त्री देउवा आजै सुदूर पश्चिमको यात्रा गर्ने तयारीमा छन् ।