पूर्व-पश्चिमका सबै नदी जोडेर ‘मेगा नहर’ बनाइने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्व-पश्चिमका सबै नदी जोडेर ‘मेगा नहर’ बनाइने


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले घोषणापत्रमा ‘सिँचाइमा लगानी’ कृषियोग्य जमिनमा पानी’को नारा दिँदै पूर्वदेखि पश्चिमसम्मका नदी जोड्ने महत्त्वाकाङ्क्षी योजना राखेको छ । ‘नेपालको पानी, नेपालमै’ भन्ने अवधारणा अघि सार्दै उसले सबै नदी एक अर्कासँग जोडेर पूर्व पश्चिम मेगा नहर राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।

सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने दीर्घकालीन सोचका साथ यो योजना ल्याइएको सो पार्टीले जनाएको छ । ‘मधेस र भित्री तराईको कृषिभूमि सिँचाइ गर्न तमोर-मोरब, सुनकोसी-कमला र सुनकोसी-मरिण-वाग्मती, कालीगण्डकी-तिनाउ, राप्ती-सुराई, भेरी- बबई, पश्चिम सेती-कैलाली-पाण्डुन, शारदा नदी लगायतका डाइभर्सन योजना अगाडि बढाइने छ’ घोषणापत्रमा उल्लेख छ ।

भूमिगत सिँचाइको सम्भावना भएका तराई-मधेस र अन्य स्थानमा स्यालो तथा डिप ट्युबवेल र पहाडी भूभागमा अवस्थित समथर भूभाग, बेँसी तथा टारमा सौर्य ऊर्जा एवम् अन्य प्रविधिमा आधारित लिफ्ट सिँचाइ कार्यक्रम लागू गरिने घोषणापत्रमा उल्लेख छ ।

‘पुराना सिँचाइ प्रणालीलाई मर्मत–सम्भार तथा पुनर्निर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गर्न पहल गरिने छ’ घोषणापत्रमा भनिएको छ ‘चुरे तथा महाभारत क्षेत्रबाट बग्ने नदीको मुहानमा बाँध निर्माण गरी बाढी नियन्त्रण, विद्युत् उत्पादन, सिँचाइ तथा माछा पालन कार्यक्रम लागू गर्न पहल गरिने छ ।’ आकासे पानी सङ्कलन तथा भण्डारण, थोपा तथा फोहोरा सिँचाइ, प्लास्टिक पोखरी र तालतलैया एवम् पानीका अन्य स्रोत प्रयोगद्वारा कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन जोड गरिने समाजवादीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस