दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले दियो १६ लाख रुपैयाँ क्षतिपूर्ति     « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दार्चुला बालक मृत्यु घटना : भारतीय निर्माण कम्पनीले दियो १६ लाख रुपैयाँ क्षतिपूर्ति    


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो ।

भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गका प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

छठ पर्वका कारण आज बैङ्क बन्द भएकाले सोमबार संयुक्त खाता खोलेर रकम जम्मा गरिने प्रजिअ उपाध्यायले बताए । 

दार्चुलाको व्याँस गाउँपालिका-२, दुम्लिङस्थित महाकाली नदीपारिको भारतीय क्षेत्रमा शुक्रबार बिहान सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले लागेर स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरूका साथमा हिँडिरहेका बेला उक्त घटना घटेको हो ।

उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मृतक बालकका बुबा हिक्मतका अनुसार गए राति भारतको धारचुलास्थित सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको हो । भारतीय पक्षसित क्षतिपूर्तिका लागि शनिबार दिनभर छलफल भएको थियो । 

घटनापछि भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको हो ।

महाकाली किनारमा भारतले आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिईकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो । भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गाले लागेर बालक महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना पटक-पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकामा नेपाली पक्षले आपत्ति जनाएको थियो ।

मृतक बालक महरा दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा-३ मा अध्ययनरत थिए । महरा परिवार दसैँ, तिहारको बिदामा गाईबस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो । यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरू गाउँ फर्किँदै थिए ।

भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ । त्यसका लागि बेला–बेलामा कामदारले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था आएमा एक-अर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ ।

तर, शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको उपाध्यायले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस