राजनीति २ दिनको अस्थायी जागिर होइन, नमरुन्जेल गरिने पेसा हो : पूर्व मुख्यमन्त्री शाही « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राजनीति २ दिनको अस्थायी जागिर होइन, नमरुन्जेल गरिने पेसा हो : पूर्व मुख्यमन्त्री शाही


१३ कार्तिक २०७९, आइतबार


Karnali

काठमाडौँ । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीति दुई दिनको अस्थायी जागिर नभएको टिप्पणी गरेका छन् ।

गृह जिल्ला कालिकोटमा घरदैलो कार्यक्रममा व्यस्त शाहीले राजनीतिलाई अस्थायी जागिर जस्तो नभई नमरुन्जेल गरिने पेसा​को रूपमा लिनुपर्ने बताएका हुन् ।

कालिकोटबाट प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार समेत रहेका शाहीले सडक पूर्वाधारको स्तरोन्नति, बिजुली, शिक्षा र युवा स्वरोजगार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले भने ,‘ चुनाव जित्ने भनेकै केही विकास र परिवर्तन गर्नका लागि हो । भोलि पदमा रहे पनि नरहे पनि, जनप्रतिनिधि भए पनि नभए पनि नमरुन्जेलसम्म गरिने पेसा नै राजनीति हो ।’

उनले जनतामा भ्रम फैलाएर चुनाव जित्ने काम आफूबाट नहुने बताए । ‘हामी जे कुरा सम्भव छ त्यो कुरा मात्रै भन्छौँ र गर्छौँ पनि’ उनले भने, ‘०७० सालमा मैले चुनावमा प्रतिबद्धता गरेका अधिकांश कुराहरू कार्यान्वयन भइसकेका छन् ।’

आफू मुख्यमन्त्री हुँदा कालिकोटमा विद्युत् पुर्‍याउन निकै जोड गरेको बताउँदै उनले अबको केही वर्षभित्र कालिकोटका गाउँ बस्ती पूर्ण रूपमा विद्युतिकरण गरिसक्ने लक्ष्य लिइएको बताए । उनले सडकको ट्रायक ओपन धेरै ठाउँमा भएकाले मुख्य राजमार्गदेखि गाउँ जोड्ने सडकलाई कालोपत्रे गर्नेमा जोड दिइने बताए । अबको एक वर्षभित्र सुनथराली विमानस्थल सञ्चालन गर्नेदेखि मान्म–कोटबाडा केबलकार निर्माण गर्ने उनले आफ्नो चुनावी प्रतिबद्धतामा उल्लेख गरेका छन् ।

साथै उनले आसन्न निर्वाचन पछि कर्णाली सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे । ‘माओवादी–काँग्रेस जस्ता ठुला पार्टी मिलेको अवस्थामा पराजित हुने भन्ने कुरा नै हुँदैन,’उनी भन्छन् । माओवादी नेता शाहीसँग यो पटक एमालेका नागेन्द्र शाही ‘नेशनल’ले प्रतिस्पर्धा गर्दै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस