प्रत्यक्ष चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रत्यक्ष चुनाव लड्ने यो नै अन्तिम पटक हो : पम्फा भुसाल


१२ कार्तिक २०७९, शनिबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो अन्तिम पटक भएको बताएकी छन् ।

ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले आउँदो निर्वाचनमा आफू ६५ वर्ष पुग्ने भन्दै उमेरकै कारणले निर्वाचन लड्ने अवस्था नहुने बताएकी हुन् ।

‘१६ वर्ष हुँदा म ललितपुर आएको हुँ । ४४ वर्ष भयो यहाँ बसेको । म गत साउन ४ गतेबाट ६० वर्ष पुगेँ । अब अर्को संसद आउने बेलासम्म म ६५ वर्ष पुग्छु । अरु कुनै कारणले होइन, म चाहिँ अब उमेरको अवस्थाले प्रत्यक्ष निर्वाचन लड्न घरघर जान अनि टोलटोल पुग, गल्लीगल्ली पुग, सबै ठाउँ पुग, अब मसँग त्यो इच्छा छैन’ उनले भनिन् ।

भुसालले अब युवाले अवसर पाउनुपर्ने बताइन् । ‘मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भनेपनि हुन्छ । राष्ट्रियसभा पनि छ । अरु राजनीतिक मोर्चाहरु पनि छन् । पार्टीको जिम्मेवारी लिएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छु । अब मलाई अर्को चोटी उठ्ने रहर छैन’, भुसालले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस