‘गठबन्धनको साझा उम्मेदवार मै हुँ’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘गठबन्धनको साझा उम्मेदवार मै हुँ’


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धनभित्र सर्लाही-२ मा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । सर्लाही-२ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । यी दुवै दल सत्तारुढ गठबन्धनभित्र छन् ।

सत्ता गठबन्धनले सुरुमा निकालेको सूचीमा महिन्द्र राय यादव गठबन्धनका आधिकारिक उम्मेदवार रहेको उल्लेख थियो । त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै लोसपाका नेता महतोले उम्मेदवारी दिएका थिए ।

तर, पछिल्लो सहमति अनुसार सर्लाही-२ मा यादव र महतोबीच मित्रवत् प्रतिस्पर्धा हुने भनिएको छ । तर उक्त निर्णयप्रति यादव असन्तुष्ट देखिएका छन् । उनी सर्लाही-२ मा आफू नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार रहेको दाबी गर्दैछन् ।

‘सत्तारुढ गठबन्धनको साझा उम्मेदवार मै हुँ,’ उनले भने, ‘एउटै विषयमा पटक-पटक निर्णय हुँदैन । यहाँका मतदाताले मलाई साझा उम्मेदवारको रूपमा स्वीकार गरिसकेका छन् ।’

काँग्रेसले गठबन्धनको गरिमा र महत्त्वलाई कायम राख्न नसकेको उनको गुनासो थियो । अधिकांश ठाउँमा काँग्रेसका बागी उम्मेदवार रहेको बताउँदै उनले हालसम्म त्यसरी उम्मेदवारी दिएका कसैलाई काँग्रेसले कारबाही नगरेको गुनासोसमेत गरे । सर्लाही-२ मा गठबन्धनको निर्णय विपरीत काँग्रेसबाट प्रदेशसभामा उम्मेदवारी परेको तर हालसम्म काँग्रेसले हालसम्म त्यसको बारेमा केही नबोलेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस