लागुऔषध ओसारपसारको आरोपमा प्रहरी हवल्दारसहित २ जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लागुऔषध ओसारपसारको आरोपमा प्रहरी हवल्दारसहित २ जना पक्राउ


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । कैलाली कारागारमा लागुऔषध ओसारपसारमा सघाएको आरोपपछि प्रहरी सहायक हवलदार पक्राउ परेका छन् ।

३१ असोजमा धनगढी उपमहानगरपालिका-७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादव कुमार चौधरीको बयानका आधारमा प्रहरी सहायक हवलदार अपिल भाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले निजलाई चौधरीको बयानपछि प्रहरी सहायक हवलदार भाटलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको पुष्टि गरेका छन् ।

कारागारमा आश्रित कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको आरोपपछि पक्राउ परेका भाटलाई निलम्बन गरेर उनीमाथि अनुसन्धान भइरहेको जोशीले बताए ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्युरोको टोलीले लागुऔषधसहित से ३ प २६८० नम्बरको मोटरसाइकलमा भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेका चौधरीले प्रहरी समक्ष उक्त लागुऔषध कारागारमा रहेका कैदी सन्तलाल डगौराका लागि ल्याएको बताएका थिए ।

सोही क्रममा चौधरीले कारागारमा रहेका प्रहरी सहायक हवलदार भाटमार्फत चौकीदार वसन्त बुढा र सन्तोष शाही हुँदै डगौरासम्म पुगाउने गरेको बयान दिएपछि उनीहरू अनुसन्धानमा तानिएका हुन् । बुढा र शाहीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस