कक्षाकोठामा जनप्रतिनिधिको ताल्चा, विद्यार्थी खुला चौरमा पढ्न बाध्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कक्षाकोठामा जनप्रतिनिधिको ताल्चा, विद्यार्थी खुला चौरमा पढ्न बाध्य


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । महोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ ।

जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका-५ मा रहेको माध्यमिक विद्यालय पर्सापतैलीमा विगत पाँच महिनादेखि स-साना बालबालिका कक्षाकोठा र डेस्कबेञ्च हुँदाहुँदै पनि खुला चौरमा पढ्न बाध्य छन् ।

प्रदेश सरकारले उक्त विद्यालयमा गत आर्थिक वर्ष २०७८/७९ मा भौतिक निर्माणका लागि ५० लाख रुपैयाँ पठाएको थियो । जनप्रतिनिधिहरू जिम्मेवार नहुँदा स-साना बालबालिका चर्को घाम, वर्षा र धुलोधुवाँको सामना गर्दै खुला चौरमा पढ्न बाध्य भएका हुन् । उक्त बजेटबाट विद्यालयमा रहेको सरस्वती मन्दिरको पर्खाल, विद्यालयको मुख्यद्वारबाट मन्दिरसम्म पुग्ने एक-दुई फिट चौडाइ भएको ढलान बाटो र करिब एक सय ५० वटा गुणस्तरहीन प्लाइ लगाएर डेस्क-बेञ्च निर्माण गरिएको छ ।

गत असारदेखि कात्तिक महिना लाग्ने बेलासम्म जिल्लामा पानी परेकाले विद्यालयमा निर्माण गरिएको डेस्कबेञ्च कक्षाकोठामै राखी बाहिरबाट ताल्चा लगाइएको छ ।

कक्षा कोठा छ, कमसलै भए पनि डेस्कबेञ्च पनि छन् तर विद्यार्थी भित्र छिर्न पाएका छैनन् । स-साना बालबालिकालाई खुला चौरमा र चर्को घाममा पढाउँदै गरेकी शिक्षिकाले विगत चार-पाँच महिनादेखि बालबालिकालाई यस्तै पढाउँदै आएको जानकारी दिइन् । उनले बालबालिका खुला ठाउँमा पढ्नुपर्दा पटक-पटक बिरामी हुने, नियमित नआउने र बर्खामा पानी परेको दिन पठनपाठन ठप्प हुने बताइन् । 

यस विषयमा प्रधानाध्यापक रंजय रायले आफूहरूलाई कति बजेट आयो, कति खर्च भयो भन्नेबारेमा केही थाहा नभएको बताए । साथै उनले प्लाइको डेस्कबेञ्च बर्खाको पानीमा बिग्रिने डरले जनप्रतिनिधिले नै चारवटा कक्षाकोठामा ती डेस्कबेञ्च राखेर ताल्चा लगाइदिएका कारण बालबालिका खुला आकाशमुनि पढ्न बाध्य भएको बताए ।

उनले नगर शिक्षा ऐनका कारण विद्यालयसँग कुनै अधिकार नरहेको र जनप्रतिनिधिले आफूखुसी गर्न थालेका कारण दिनानुदिन पठनपाठन तथा विद्यालयको वातावरणमा नकारात्मक प्रभाव परिरहेको बताए ।

नगर शिक्षा संयोजक जयकुमार साहले सो विद्यालयमा कक्षाकोठा हुँदाहुँदै बालबालिका खुला चौरमा पढिरहेको तथा चारवटा कक्षाकोठामा डेस्कबेञ्च राखिएकोबारे आफूलाई थाहा नभएको बताए । उनले यस नगर शिक्षा शाखामा तीन जनाको न्यूनतम दरबन्दीमा आफू एक्लै भएका कारण विद्यालयको अनुगमन निरीक्षणसमेत गर्न नसकिएका कारण विद्यालयमा भएको समस्याबारे आफूलाई थाहा हुन नसकेको बताए । उनले मावि पर्सापतैलीमा रहेको समस्याको तत्कालै अनुगमन निरीक्षण गरेर समाधानतिर लाग्ने प्रतिबद्धता प्रकट गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस