साँफे-मार्तडी सडक खण्ड : पाँच महिनापछि बस सेवा सञ्चालनमा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

साँफे-मार्तडी सडक खण्ड : पाँच महिनापछि बस सेवा सञ्चालनमा


९ कार्तिक २०७९, बुधबार


डोटी । बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी सडक खण्डमा पाँच महिना पछि बस सेवा सञ्चालनमा आएको छ । 

बर्सातका कारण जेठको अन्तिम साता देखी साँफे मार्तडी सडक खण्डको अम्कोटमा बन्द भएको सडक आइतबार देखि सञ्चालनमा आएपछि बुधवार मार्तडीमा बस पुगेको हो ।

बाजुरा सदरमुकाम मार्तडीमा यातायातका साधनहरु पुग्दा आम नागरिकलाई सहजता भएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताए । उनले भने, ‘मार्तडीमा गाडी नपुग्दा यातायात गर्ने यात्रुहरूले पहिरोमा करिब १ किलोमिटर हिँड्नु पर्थ्यो, सामाग्रीहरू बोक्नुपर्ने, बजारमा महँगी थियो, इन्धनको मूल्य उच्च थियो, बजारमा खाद्य सामाग्री थिएन, भएको पनि उपभोत्ताले चर्को मूल्य तिर्नु पर्थ्यो कोल्टी र कर्णाली करीडोर खोल्न सकेको थिएन अब धेरै कुरामा सहजता हुन्छ ।’ 

चार वर्ष देखी बर्सातको समयमा बुढिगंगा नगरपालिकाको १ बल्दे देखी द्धवारी सम्म करिब २ किलोमिटर पहिरो खसेर प्रत्येक वर्ष बर्षातमा सडक अवरोध हुँदै आएको छ । असार देखी कार्तिक महिना सम्म यात्रुहरूले बाम्का, बल्दे, बेतालमाण्डौ पुगेर बस चढ्नु पर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । 

उक्त सडक खण्ड अवरुद्ध हुँदा बाजुरा सदरमुकाम मार्तडी मात्र नभई बाजुराको उत्तरी क्षेत्रमा रहेको हुम्ला र मुगुको आगमनमा समेत समस्या हुँदै आएको थियो । बर्षातमा सडक अवरुद्ध हुँदा यस क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीका साथै औषधिको चरम अभाव भएको देखिन्छ । बाह्रै महिना यातायात सञ्चालन हुन सरकारले बैकल्पिक बाटो खोल्न पहल गर्नुपर्ने स्थानीयको माग छ । 

साना सवारी साधन जिप, ट्याक्टर मोटरसाइकल आइतबार देखी नै सञ्चालनमा आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस