दाङ १ मा मेटमणि चौधरी र शान्ता चौधरीबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ अङ्क गणित ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दाङ १ मा मेटमणि चौधरी र शान्ता चौधरीबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ अङ्क गणित !


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । दाङ क्षेत्र नं.१ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरीविरुद्ध नेकपा एमालेकी शान्ता चौधरीको प्रतिस्पर्धालाई निकै रोचक रूपमा हेर्न थालिएको छ ।

किनकि उनीहरू दुवैजना एउटै समुदायका हुन् । विगतमा उनीहरू एउटै पार्टी पङ्क्तिमा रहेर काम गरेका व्यक्तिहरू हुन् ।

शान्ता कम्लहरी आन्दोलनबाट स्थापित भएकी नेता हुन् । मेटमणि र शान्ताले विगतदेखि नै थारु हक अधिकारका पक्षमा सँगसँगै मिलेर काम गरेका थुप्रै उदाहरणहरू छन् ।

यसमाथि अन्तिममा टिकट नपाएपछि एमालेबाट विद्रोह गरी उम्मेदवारी दिएकी यसअघिकी सांसद गङ्गा चौधरीको पनि उम्मेदवारीले निर्वाचन थप रोचक बन्ने देखिएको छ ।

गत स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्दा गठबन्धनका उम्मेदवारको पक्षमा बढी मत देखिन्छ ।

क्षेत्र नं.१ का चार पालिकामध्ये स्थानीय निर्वाचनमा राप्तीमा माओवादी र राष्ट्रिय जनमोर्चा, गढवामा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो । काँग्रेस एक्लै भिडेको थियो ।

काँग्रेसले राजपुर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र लमही नगरपालिकामा पनि अध्यक्ष, उपाध्यक्ष दुवै पद जितेको छ ।

राप्ती गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले जितेको छ । गढवा गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसले जितेको छ ।

स्थानीय तहमा निर्वाचन क्षेत्र नं.१ मा काँग्रेसले २९ हजार ७ सय ५७, माओवादी केन्द्रको १९ हजार २ सय ७६, एकीकृत समाजवादीले कुल २ हजार ३ सय ४१ र राष्ट्रिय जनमोर्चाले २ हजार ५ सय ९६ मत प्राप्त गरेका छन् । गठबन्धनको पक्षमा ५० हजार ३ सय ६७ मत छ ।

नेकपा एमालेले प्राप्त गरेको मत २७ हजार २५ रहेको छ ।

प्राप्त मतको जोड घटाउ गर्दा गठबन्धन दलहरूको एमालेको भन्दा २३ हजार ३ सय ४२ मत बढी देखिन्छ । यसले गठबन्धनका उम्मेदवार अर्थात् सहरी विकास मन्त्री मेटमणि चौधरी सुरक्षित देखिन्छन् । तर उनी एकीकृत समाजवादीका नेता भएको र सो पार्टी पहिलो पटक चुनावमा होमिएको हुँदा सबै मत उनकै पक्षमा जान्छ भनेर भन्न नसकिने स्थानीय नेताहरू बताउँछन् ।

क्षेत्र नं.१ मा एक लाख ३४ हजार ७०३ मतदाता छन् । ६७ हजार ६४१ पुरुष मतदाता र महिला मतदाताको संख्या ६९१ रहेको छ । एक अन्यको सूचीमा छन् ।

यहाँ एमालेले टिकट नपाएपछि निवर्तमान सांसद गङ्गा चौधरी हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेकी छन् । उनले पनि नेकपा एमालेको मत काट्न सक्ने अनुमान धेरैको छ ।

नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरी प्रतिस्पर्धामा उत्रिएका छन् । गङ्गा र सुरेन्द्रले कसको कति मत काट्ने हुन् ? त्यसले मेटमणि वा शान्ताको जितको सुनिश्चित गर्ने देखिन्छ ।

२०७४ सालामा मेटमणि निर्वाचित भएको क्षेत्र यही हो । सुरेन्द्रले त्यतिखेर एक हजारको हाराहारीमा मत प्राप्त गरेका थिए ।

मेटमणि, शान्ता र गङ्गा यसअघि एउटै पार्टीमा थिए । त्यसैले पनि उनीहरूबिचको भिडन्त रोचक मानिएको छ । क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा १२ उम्मेदवार मैदानमा उत्रिएका छन् ।

निर्वाचन क्षेत्र नं. १ को (क) मा प्रदेशतर्फ नौ जना, १ (ख) मा छ जना प्रतिस्पर्धी छन् ।

७० हजार २६७ मतदाता छन् । राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका साथै राजपुर गाउँपालिकाको १, २ र ३ नम्बर वडाहरू यो निर्वाचन क्षेत्रमा पर्छन् ।

गठबन्धन दलबाट माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारू र एमालेका गङ्गाराम भट्टराईलाई नै मुख्य प्रतिस्पर्धी मानिएको छ । मन्त्री थारुले २०६४ देखि जित्दै आएका छन् । एमालेका भट्टराई पहिलो पटक संसदीय निर्वाचनमा होमिएका छन् ।

क्षेत्र नं.(ख) मा ६४ हजार ४ सय ६६ मतदाता छन् । लमही नगरपालिका, राजपुर गाउँपालिका वडा नं.४, ५, ६ र ७ नम्बर वडासँगै घोराही उपमहानगरपालिका वडा नं. १, २, ३ र ५ नम्बर वडाहरू पर्छन् ।

स्थानीय तह निर्वाचनमा एक्लै लड्दा पनि लमही र राजपुर दुबैमा काँग्रेसले जितेको थियो । यो निर्वाचन क्षेत्रमा गठबन्धनबाट काँग्रेसका २८ वर्षीय अनुराग खड्का र एमालेका कुलबहादुर केसीलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ ।

खड्का स्वर्गीय खुमबहादुर खड्काका एक्ला छोरा हुन् । केसी लमहीका पूर्व मेयर हुन् ।

स्वर्गीय बुवा खुमबहादुर खड्काका कारण पनि यतिखेर अनुरागको चर्चा व्यापक चुलिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस