प्रतिनिधिसभा : माओवादीका ४६ मध्ये ४१ जना ‘ग्रीन जोन’मा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रतिनिधिसभा : माओवादीका ४६ मध्ये ४१ जना ‘ग्रीन जोन’मा


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४६ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेलका क्रममा माओवादी केन्द्रले ४६ क्षेत्रमा उम्मेदवारी दिएको छ । तीमध्ये काठमाडौँ क्षेत्र नम्बर १० बाट माओवादीबाट अन्जना विशंखेले गठबन्धनबाहिरबाट एकल उम्मेदवारी दिएकी छन् । त्यसैले माओवादीबाट ४५ जनाले मात्रै गठबन्धनबाट उम्मेदवारी दिएका छन् । तीमध्ये ४१ जना मात्रै ‘ग्रीन जोन’मा देखिएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा गठबन्धनको साथबाट माओवादी केन्द्रका ४२ जना उम्मेदवार ग्रीन जोनमा परेका छन् । अरू ३ जना भने गठबन्धन हुँदाहुँदै पनि कमजोर देखिएका छन् ।

काठमाडौँ-१० बाट माओवादीको एकल उम्मेदवारी भएकाले वडा अध्यक्षको मत केलाउँदा कमजोर देखिनुलाई स्वाभाविकै रूपमा लिएको छ ।

प्रदेश १
प्रदेश १ अन्तर्गत २८ प्रतिनिधिसभामा क्षेत्रमध्ये माओवादीले ७ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । जसमध्ये ताप्लेजुङका खेलप्रसाद बुढाथोकी र झापा हरिकुमार रानामगर गठबन्धन हुँदाहुँदै पनि रेडजोनमा देखिएका छन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार पाएको मत केलाउँदा एमालेका उम्मेदवारभन्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका दुई जना तुलनात्मक रूपमा कमजोर देखिएका हुन् ।

ताप्लेजुङबाट सत्ता गठबन्धन अन्तर्गत माओवादीका खेलप्रसाद बुढाथोकीले उम्मेदवारी दिएका छन् भने एमालेबाट योगेशकुमार भट्टराई उम्मेदवार छन् । यसअघि यो क्षेत्रमा वाम गठबन्धनबाट भट्टराई निर्वाचित भएका थिए ।

ताप्लेजुङका नौ स्थानीय तह छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा एमालेको पक्षमा बढी देखिएको छ । त्यसैले बुढाथोकी भट्टराईभन्दा कमजोर देखिएका हुन् ।

स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले २४ हजार २९५ मत पाएका थिए । त्यसैगरी काँग्रेसले १८ हजार २८४, माओवादी केन्द्रले ४ हजार ४९७, नेकपा एकीकृत समाजवादीले एक हजार ३०८ र जसपाले ९२३ मत पाएको थियो । यहाँ सत्तारुढ गठबन्धन घटकको सबै दलको मत जोड्दा पनि एमालेको तुलनामा कम नै हुन्छ ।

​यस्तै झापा-२ बाट माओवादीका हरिकुमार रानामगर सत्तारुढ गठबन्धनबाट उम्मेदवार छन् । यहाँ एमालेबाट देवराज घिमिरे मैदानमा उत्रिएका छन् । यस क्षेत्र अन्तर्गत अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका अन्तर्गत १, २, ३ वडा, बिर्तामोड नगरपालिका अन्तर्गत १, २, ३, ४, ५, ६, ७, ८, ९ वडा, कन्काई नगरपालिका अन्तर्गत ८ र ९ वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्षको मत केलाउँदा एमालेकै उम्मेदवार बलियो देखिएका छन् ।

ती वडामा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले ३६ हजार ३९६ मत पाउँदा नेपाली काँग्रेसले ३२ हजार ६७२, राप्रपाले ९ हजार ५३१, माओवादी केन्द्रले २ हजार ४३७, जसपाले ५०६ र नेकपा एकीकृत समाजवादीले १७३ मत पाएको छ । यो क्षेत्रमा एमाले एक्लै सत्तारुढ गठबन्धनभन्दा भारी देखिन्छ ।

यस्तै भोजपुरबाट माओवादीका सुदन किराती उम्मेदवार छन् । यहाँ एमालेबाट शेरधन राई उम्मेदवार छन् । किराती र राईबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, स्थानीय तहको मत परिणाम अनुसार सत्तारुढ गठबन्धन केही भारी देखिन्छ ।

भोजपुरमा ९ स्थानीय तह छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा एमालेको २७ हजार ६५६ मत छ । यस्तै, काँग्रेसको २३ हजार ५९९, माओवादी केन्द्रको १४ हजार ७६१, नेकपा एकीकृत समाजवादीको एक हजार ९४५ र जसपा नेपालको एक हजार ६४५ मत छ । यस आधारमा भोजपुरमा सत्तारुढ गठबन्धनको मत धेरै देखिन्छ ।

खोटाङबाट माओवादी केन्द्रका नेता रामकुमार राई उम्मेदवार छन् । यहाँ एमालेबाट विशाल भट्टराईले उम्मेदवारी दिएका छन् । यस क्षेत्र अन्तर्गत १० स्थानीय तह छन् । ती स्थानीय तहमा वडा अध्यक्षको मत केलाउँदा गठबन्धका उम्मेदवार राई अघि देखिएका छन् ।

यहाँ स्थानीय तहको निर्वाचनमा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले २८ हजार ७९७, काँग्रेसले २६ हजार ६३३, माओवादी केन्द्रले १८ हजार ७३६, जसपाले २ हजार ९१६, नेकपा एकीकृत समाजवादीले २ हजार १४४ मत पाएका छन् ।

सुनसरी-१ मा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बा सत्ता गठबन्धनबाट र एमाले–जसपा गठबन्धनबाट जसपाका अशोककुमार राई उम्मेदवार छन् । तर माओवादी उम्मेदवार सुब्बा ‘रेड जोन’मा देखिन्छन् ।

यस क्षेत्र अन्तर्गत धरान उपमहानगर, रामधुनी नगरपालिका अन्तर्गत ६, ७ वडा र बराह नगरपालिका अन्तर्गत १, २, ३, ४, ५ वडा छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा एमालेले ३३ हजार ४५३, काँग्रेसले २६ हजार ६६४, माओवादीले ७ हजार १८, जसपाले ५ हजार ८१९ र राप्रपाले ४ हजार ७४ मत पाएको छ । एमाले र जसपाको मत मिलाउँदा सत्तारुढ गठबन्धनका उम्मेदवार निकै पछाडि देखिन्छन् ।

यस्तै मोरङ-४ बाट माओवादीका नेता अमनलाल मोदी उम्मेदवार छन् । यस क्षेत्रमा एमालेबाट विनोदप्रसाद ढकालले जसपाको सहयोगमा उम्मेदवारी दिएका छन् । यहाँ लोसपाबाट लक्ष्मण साह पनि उम्मेदवार छन् ।

यस क्षेत्र अन्तर्गत कटारी नगरपालिका, ग्रामथान गाउँपालिका, बेलवारी नगरपालिका अन्तर्गत ५, ६, ७ वडा, विराटनगर महानगर अन्तर्गत १, २, ३, ८, १०, १९ वडा पर्छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा माओवादी केन्द्रका मोदी अगाडि देखिएका छन् ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्र अन्तर्गतका वडामा एमालेले २५ हजार ७३०, काँग्रेसले २१ हजार ८९४, माओवादीले ९ हजार ९९०, राप्रपाले ४ हजार ६७४, जसपाले ३ हजार ११२ र नेकपा एकीकृत समाजवादीले एक हजार २५५ मत पाएको थियो ।

मोरङ-५ बाट माओवादी नेता शिवकुमार मण्डल र जसपाबाट राजकुमार यादवले उम्मेदवारी दिएका छन् । मण्डललाई सत्ता गठबन्धनले सघाएको छ भने यादवलाई एमालेको सहयोग छ ।

यस क्षेत्र अन्तर्गत धनपालथान गाउँपालिका, जहदा गाउँपालिका, रङेली नगरपालिका अन्तर्गत ४, ५, ६, ७ वडा, विराटनगर महानगर अन्तर्गत १३, १४, १५, १६, १७, १८ वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्षको मत केलाउँदा जसपाका यादवभन्दा माओवादी केन्द्रका मण्डल केही अगाडि देखिएका छन् ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका वडामा काँग्रेसले १९ हजार ४९८, एमालेले १५ हजार ६८०, जसपाले १३ हजार २४९, माओवादीले ११ हजार ६२८, राप्रपाले एक हजार ८८७, लोसपाले ७५२ र नेकपा एकीकृत समाजवादीले ६०८ मत पाएको थियो ।

मधेस प्रदेश

मधेस प्रदेशका ८ जिल्ला अन्तर्गत प्रतिनिधिसभातर्फ ३२ निर्वाचन क्षेत्र कायम छन् । जसमा माओवादीले ७ जनालाई उम्मेदवार बनाएको छ । यस अतिरिक्त माओवादी केन्द्रले रौतहट-३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सघाउने भएको छ ।

सिरहा-३ मा माओवादी केन्द्रका विश्वनाथ साह उम्मेदवार छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवारी दिएका साह पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् । यहाँ एमालेबाट लीलानाथ श्रेष्ठले उम्मेदवारी दिएका छन् । श्रेष्ठलाई जसपाले समर्थन गरेको छ ।

यस क्षेत्र अन्तर्गत सिराह नगरपालिका, गोलबजार नगरपालिका अन्तर्गत १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ वडा, नरहा गाउँपालिका अन्तर्गत १, २ वडा, विष्णुपुर गाउँपालिका अन्तर्गत १, ५ वडा, अरनामा गाउँपालिका अन्तर्गत १, २, ३ वडा पर्छन् ।

यी वडामा गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मत केलाउँदा माओवादी केन्द्रका उम्मेदवार कमजोर देखिएका छन् ।

यहाँ एमालेको २० हजार ३२८, काँग्रेसको १८ हजार २६, जसपाको १४ हजार ८९३, माओवादी केन्द्रको ९ हजार ४८१, नेकपा एकीकृत समाजवादीको ६ हजार २७४, जनमत पार्टीको एक हजार ५७७, राप्रपाको ९५४ र लोसपाको २५८ मत देखिन्छ ।

धनुषा–१ मा माओवादीका मातृकाप्रसाद यादवले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएका यादव यसअघि यही क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रमा जसपाबाट दीपक कार्कीले र जनमत पार्टीबाट किशोरी साह उम्मेदवार छन् । यादवलाई सत्ता गठबन्धनको साथ छ भने कार्कीलाई एमालेले साथ दिएको छ । यस क्षेत्रमा यादव र कार्कीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

​यस क्षेत्र अन्तर्गत गणेशमान चारनाथ नगरपालिका, सवैला नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका अन्तर्गत ४ वडा, क्षिरेश्वरनाथ नगरपालिका अन्तर्गत ८, ९ वडा, मिथिला बिहारी नगरपालिका अन्तर्गत १, ३, ४, ५ वडा, हंशपुर नगरपालिका अन्तर्गत २, ३, ५, ७, ८ वडा पर्छन् । ती वडामा दलगत रूपमा पाएको मत केलाउँदा माओवादी उम्मेदवार यादव सुरक्षित देखिएका छन् ।

यी वडामा काँग्रेसले १८ हजार ५१४, एमालेले १६ हजार ५८१, माओवादीले १२ हजार ३४३, जसपाले ९ हजार २०, लोसपाले ६ हजार ६२४, राप्रपाले ४ हजार ९४६, जनमत पार्टीले ३ हजार ३२० र नेकपा एकीकृत समाजवादीले २ हजार ९३७ मत पाएको छ ।

महोत्तरी-१ बाट माओवादी नेता गिरिराजमणि पोखरेलले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेल यही क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचित हुँदै आएका छन् । यो क्षेत्रमा एमालेबाट लक्ष्मी महतो, जनमत पार्टीबाट राजकिशोर साह उम्मेदवार छन् । एमाले उम्मेदवार महतोलाई जसपाले समर्थन गरेको छ ।

यस क्षेत्र अन्तर्गत बर्दिबास नगरपालिका, गौशाला नगरपालिका र भँगाहा नगरपालिका अन्तर्गत ३, ४, ५, ९ वडा पर्छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा माओवादी केन्द्रका पोखरेल निकै अगाडि हुने देखिन्छ ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका वडामा माओवादीले १५ हजार ८८८, काँग्रेसले १३ हजार १४६, एमालेले ८ हजार ३४, जसपाले ७ हजार २३४, लोसपाले ७ हजार ६९, नेकपा एकीकृत समाजवादीले एक हजार ५०८ र राप्रपाले ४७८ मत पाएको छ ।

सर्लाही-२ बाट नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव उम्मेदवार छन् । उनले माओवादी केन्द्रकै चुनाव चिह्न लिएर सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका हुन् । उनको मुख्य प्रतिस्पर्धीको रूपमा लोसपा नेता राजेन्द्र महतो देखिएका छन् । यादव र महतो यसअघि एउटै पार्टीमा रहेर काम गरेका थिए । यो क्षेत्रमा एमालेबाट राजनारायण साहले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्र अन्तर्गत ब्रम्हपुरी गाउँपालिका, मलंगवा नगरपालिका, हरिपुर्वा नगरपालिका, पर्सा गाउँपालिका, कौडेना गाउँपालिका, विष्णु गाउँपापलिका अन्तर्गत ५, ६, ७, ८ वडा, कविलासी नगरपालिका अन्तर्गत ८, ९, १० वडा र ईश्वरपुर नगरपालिका अन्तर्गत १५ वडामात्रै पर्छ । ती स्थानीय तहको वडा अध्यक्षको मत केलाउँदा यादव नै बलियो देखिएका हुन् ।

वडा तहको मतअनुसार यहाँ काँग्रेसको २४ हजार ६२०, जसपाको १९ हजार ६४२, लोसपाको १२ हजार ३६६, माओवादीको ७ हजार ७३७, एमालेको ७ हजार ६७९, जनमत पार्टीको ३ हजार ४२ र नेकपा एकीकृत समाजवादीको २ हजार २२१ मत छ ।

यस्तै सर्लाही-३ मा माओवादीका नरेन्द्र साह उम्मेदवार छन् । यसअघि निर्वाचित रामेश्वर राय यादवले चुनाव लड्ने इच्छा नदेखाएपछि साहले मौका पाएका हुन् । यहाँ एमालेबाट हरिप्रसाद उप्रेती उम्मेदवार छन् । यादवलाई सत्ता गठबन्धन र उप्रेतीलाई जसपाले सघाएको छ ।

यस क्षेत्र अन्तर्गत हरिवन नगरपालिका, बागमती नगरपालिका, चक्रघट्टा गाउँपालिका, हरिपुर नगरपालिका अन्तर्गत १ वडा, कविलासी नगरपालिका अन्तर्गत ३, ४, ५, ६ वडा, बरहथवा नगरपालिका अन्तर्गत ५, ६, ७, ८, ९, १०, ११, १२, १६, १७, १८ वडा, वसबरिया गाउँपालिका अन्तर्गत ४, ५, ६ वडा पर्छन् । यस क्षेत्र अन्तर्गतका वडा अध्यक्ष पदका उम्मेदवारको मत केलाउँदा सत्तारुढ गठबन्धन बलियो देखिन्छ ।

स्थानीय तह निर्वाचन परिणामअनुसार यस क्षेत्रमा एमालेको २३ हजार ९६, काँग्रेसको २२ हजार ७६२, माओवादी केन्द्रको २१ हजार ८६, जसपाको १३ हजार ४६, नेकपा एकीकृत समाजवादीको ३ हजार ५५४, लोसपाको एक हजार १६६ र राप्रपाको एक हजार १०३ मत देखिन्छ ।

बारा-२ मा माओवादी नेता शिवचन्द्रप्रसाद कुशवाह र जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यादवलाई एमालेले सघाएको छ भने कुशवाहलाई सत्ता गठबन्धनले सघाएको छ ।

यस क्षेत्र अन्तर्गत करैयामाई गाउँपालिका, महागढीमाई गाउँपालिका, पचरौता गाउँपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका र कोल्हवी नगरपालिका अन्तर्गत ८ वडामात्रै पर्छ । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा माओवादी उम्मेदवार कुशवाह तुलनात्मक रूपमा केही कमजोर देखिएका छन् ।

यहाँ काँग्रेसको २१ हजार ६५२, जसपाको २० हजार ८२४, एमालेको १७ हजार ९२९, लोसपाको ६ हजार ७१६, माओवादी केन्द्रको ४ हजार ६४० र नेकपा एकीकृत समाजवादीको ४ हजार १०५ मत छ ।

बागमती प्रदेश

यस प्रदेशमा ३३ प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रबाट १३ क्षेत्रमा मात्रै उम्मेदवारी परेको छ । उम्मेदवारी दिएका १३ क्षेत्रमध्ये काठमाडौँ-७ बाट नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले माओवादी केन्द्रकै चुनावचिह्न लिएर उम्मेदवारी दिएकी हुन् । काठमाडौँ-१० मा अन्जना विशंखे भने सत्तारुढ गठबन्धन बाहिरबाट चुनावी प्रतिस्पर्धामा छिन् ।

दोलखाबाट माओवादी केन्द्रका गङ्गा कार्की उम्मेदवार छन् । गठबन्धनका साझा उम्मेदवार कार्कीका मुख्य प्रतिस्पर्धीमा एमालेका बालकृष्ण शिवाकोटी छन् । दोलखाको ९ स्थानीय तहको वडा अध्यक्षको मत केलाउँदा गठबन्धनका उम्मेदवार तुलनात्मक रूपमा अगाडि देखिएका छन् ।

यहाँ स्थानीय तह निर्वाचनमा एमालेले ३९ हजार ५० मत पाएको थियो भने काँग्रेसले ३३ हजार ४३९, माओवादीले १७ हजार ३७५, नेकपा एकीकृत समाजवादीले ३ हजार १५१ र राप्रपाले एक हजार ५११ मत पाएको थियो ।

सिन्धुली-२ मा लेखनाथ दाहाल ‘राजन’ माओवादी केन्द्रबाट उम्मेदवार छन् । दाहालको प्रतिस्पर्धीका रूपमा एमालेका मनोजजंग थापाले उम्मेदवारी दिएका छन् । थापा पूर्वमाओवादी हुन् ।

सिन्धुली-२ अन्तर्गत सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेख गाउँपालिकापा र कमलामाइ नगरपालिकाका १ देखि १२ वडा पर्छन् । यस क्षेत्र अन्तर्गतका वडामा दलगत मत केलाउँदा गठबन्धन उम्मेदवार दाहाल बलियो देखिएका छन् ।

यस क्षेत्रका वडामा स्थानीय तह निर्वाचनमा एमालेले २१ हजार ४५५, माओवादीले १९ हजार ४८८, काँग्रेसले १९ हजार १२८, जसपाले ४१६, राप्रपाले ३०७ र नेकपा एकीकृत समाजवादीले ३५ मत पाएका थिए ।

नुवाकोट-१ मा माओवादीका हितबहादुर तामाङ उम्मेदवार छन् । तामाङको मुख्य प्रतिस्पर्धीका रूपमा एमालेबाट बद्री मैनाली उम्मेदवार छन् । यस क्षेत्र अन्तर्गत ७ स्थानीय तह पर्छन् । जसमा शिवपुरी, दुप्चेश्वर, पन्चकन्या, तादी, सूर्यगढी, लिखु, ककनी गाउँपालिका पर्छन् । ती पालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत अनुसार गठबन्धनका उम्मेदवार तामाङ सुरक्षित देखिएका छन् । वडा तहको मत परिणामअनुसार यहाँ काँग्रेसको २८ हजार ९६२, माओवादीको २३ हजार २००, एमालेको १८ हजार २६७, राप्रपाको ४ हजार ७८ र नेकपा एकीकृत समाजवादीको २ हजार २४५ मत छ ।

काभ्रे-१ मा सत्ता गठबन्धनका तर्फबाट माओवादीका सूर्यमान दोङ तामाङले उम्मेदवारी दिएका छन् । उनको प्रतिद्वन्द्वीको रूपमा एमालेका रेसमबहादुर लामा उम्मेदवार छन् ।

यस क्षेत्र अन्तर्गत ९ स्थानीय तह पर्छन् । जसमा चौरीदेउराली, तेमाल, रोशी, महाभारत, नमोवुद्ध र खानीखोला गाउँपालिका पर्छन् । यस्तै, धुलिखेल नगरपालिका अन्तर्गत ८ देखि १२ वडा, पनौती नगरपालिका अन्तर्गत ४ देखि १० वडा र बेथानचोक गाउँपालिका अन्तर्गत ६ नम्बर वडा पर्छन् । ती वडा अध्यक्ष पदमा उम्मेदवारले गत स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा गठबन्धन उम्मेदवार दोङ बलियो देखिएका छन् ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा काँग्रेसको ४० हजार १३६, एमालेको ३३ हजार ८४६, माओवादी केन्द्रको २४ हजार ३३१, नेकपा एकीकृत समाजवादीको २ हजार ३५४ र राप्रपाको ३९९ मत छ ।

सिन्धुपाल्चोक-१ बाट माओवादी केन्द्रका माधवप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धी रूपमा एमालेका सरेश नेपालले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्र अन्तर्गत ९ स्थानीय तह पर्छन् । जसमा त्रिपुरा सुन्दरी, लिसंखु, पाखर, सुनकोसी, बाह्रबिसे, भोटेकोशी, जुगल, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका अन्तर्गतका २, ३, ४, ९, १० वडा पर्छन् । ती स्थानीय तहका वडा अध्यक्षको मतका आधारमा सापकोटा बलियो देखिएका छन् ।

यहाँ काँग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ५९, माओवादीको १९ हजार ३४४, नेकपा एकीकृत समाजवादीको २ हजार ३११, राप्रपाको एक हजार २३९ मत रहेको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतबाट देखिन्छ ।

चितवन-३ बाट माओवादीका डा भोजराज अधिकारीले उम्मेदवारी दिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बनेर जितेको यो क्षेत्रमा गठबन्धनबाट अहिले अधिकारीले उम्मेदवारी दिएका हुन् । यहाँ एमालेले उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन जनाएको छ । त्यसैले अब यस क्षेत्रमा अधिकारी र कोइरालाबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्र अन्तर्गतका स्थानीय तहका निर्वाचित वडा अध्यक्षको मत केलाउँदा एमालेसँग २९ हजार ७७१ मत छ । यस्तै, काँग्रेसको २९ हजार ३४३, माओवादीको १० हजार ९४०, राप्रपाको ६ हजार १९८ र नेकपा एकीकृत समाजवादीको ५ हजार ३७ मत छ ।

ललितपुर-३ बाट माओवादी केन्द्रकी पम्फा भुसालले उम्मेदवारी दिएकी छन् । संघीय सरकारकी ऊर्जा मन्त्री भुसालले गठबन्धनबाट उम्मेदवारी दिएकी हुन् । भुसालको प्रतिस्पर्धीको रूपमा एमालेका अमृत खड्का छन् ।

यस क्षेत्र अन्तर्गत ललितपुर महानगरका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ वडा मात्रै पर्छन् । स्थानीय तह निर्वाचनमा ती वडाका मत परिणामलाई आधार मान्ने हो भने यहाँ गठबन्धनको अग्रता देखिन्छ ।

यस क्षेत्र अन्तर्गतका वडामा काँग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादीको ७ हजार ७२७, नेकपा एकीकृत समाजवादीको ५ हजार १२९ र राप्रपाको ४ हजार ३४२ मत छ ।

भक्तपुर-१ बाट माओवादी नेता सुनिल गोठेले उम्मेदवारी दिएका छन् । यहाँ नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र एमालेबाट नवराज गेलालले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेमकिपाको बलियो जनमत भएकाले सबै पार्टी मिल्दा पनि जित्ने नेमकिपालाई पराजित गर्ने अवस्था छैन ।

स्थानीय तह निर्वाचनमा यस क्षेत्र अन्तर्गतका वडामा नेमकिपाले ३३ हजार ८९५ मत पाएको छ भने एमालेले १४ हजार ११९, काँग्रेसले १३ हजार १३, राप्रपाले ६ हजार २८६ ले मत पाएको छ । यहाँ माओवादीको एक हजार ३८८ मत छ ।

यस्तै, काठमाडौं-२ बाट माओवादीकी ओनसरी घर्ती उम्मेदवार छिन् । आफ्नो निर्वाचन क्षेत्र रोल्पा छोडेर घर्ती काठमाडौं–२ बाट उम्मेदवार भएकी हुन् । घर्तीको प्रतिस्पर्धीको रूपमा एमालेबाट मणिराम फुयाँलले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा एमाले पहिलो दल भए पनि गठबन्धन घटकका मत जोड्ने हो भने यहाँ पनि सत्तारुढ गठबन्धन नै हाबी हुने देखिन्छ ।

यस क्षेत्र अन्तर्गत शंखरापुर नगरपालिका, कागेश्वरी नगरपालिका अन्तर्गत ४ देखि ९ वडा, काठमाडौं महानगरका ९ र ३२ वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्षको मतका आधारमा एमालेको १७ हजार ३२८, काँग्रेसको १४ हजार १२८, नेकपा एकीकृत समाजवादीको ७ हजार ९११, राप्रपाको ७ हजार २०० र माओवादीको ३ हजार १३१ मत छ ।

यस्तै काठमाडौं–३ बाट माओवादीका बद्रीप्रसाद बजगाई उम्मेदवार छन् । बजगाईँको प्रतिस्पर्धीको रूपमा एमालेबाट कृष्णबहादुर राईले उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा राईले वाम गठबन्धनबाट चुनाव जितेका थिए ।

यस क्षेत्र अन्तर्गत गोकर्णेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका अन्तर्गत १, २, ३ र काठमाडौं महानगर अन्तर्गत ६ नम्बर वडा पर्छन् । ती वडामा वडा अध्यक्षको मत केलाउँदा काँग्रेसको पक्षमा १५ हजार ७९५, एमालेको १४ हजार ८७६, माओवादीको एक हजार ७३०, राप्रपाको एक हजार ३१४, नेकपा एकीकृत समाजवादीको एक हजार ५६ मत छ ।

यस्तै काठमाडौँ-७ बाट नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएकी छन् । यहाँ एमालेबाट श्यामकुमार घिमिरेले उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट यसअघि एमालेबाट रामवीर मानन्धर विजयी भएका थिए । उनले हाल एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस क्षेत्र अन्तर्गत काठमाडौँ महानगर अन्तर्गत १६, १७, १८, २५ वडा, नागार्जुन नगरपालिका अन्तर्गत १, २, ३ वडा र तारकेश्वर नगरपालिका अन्तर्गत ३, ४, ५ वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्षको मतका आधारमा गठबन्धनकै उम्मेदवार मानुषी बलियो हुने देखिएको छ ।

यहाँ काँग्रेसको १४ हजार १६७, एमालेको १२ हजार २०२, नेकपा एकीकृत समाजवादीको ३ हजार ८३९, राप्रपाको दुई हजार २७ र माओवादीको ५७६ मत छ ।

यस्तै काठमाडौँ-९ बाट माओवादीकी कल्पना धमलाले उम्मेदवारी दिएकी छन् । यस क्षेत्रबाट २०७४ सालको चुनावमा कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । अहिले धमलाको प्रतिस्पर्धीको रूपमा एमालेबाट श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्र अन्तर्गत काठमाडौँ महानगरका १२, १४, २२ वडा, चन्द्रागिरि नगरपालिका अन्तर्गत १, १२, १३, १४, १५ वडा र नागार्जुन नगरपालिका अन्तर्गत ६, ७, ८, ९, १० वडा पर्छन् । ती स्थानीय तहको वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतको आधारमा यहाँ काँग्रेसको १९ हजार ९१६, एमालेको १९ हजार २८२, राप्रपाको २ हजार ४०१, माओवादीको ६९५ र नेकपा एकीकृत समाजवादीको ४६५ मत छ ।

यस्तै काठमाडौँ-१० बाट काँग्रेस, एमाले र माओवादी लगायत दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा सत्ता गठबन्धनभित्र तालमेल हुन नसकेपछि माओवादी केन्द्रले छुट्टै उम्मेदवारी दिएको छ । यहाँ काँग्रेसबाट राजेन्द्र केसी, एमालेबाट हिमेश केसी र माओवादीबाट अन्जना विशंखेले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्र अन्तर्गत दक्षिणकाली, कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका अन्तर्गत २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ वडा पर्छन् । ती वडामा काँग्रेसको २४ हजार ६७५, एमालेको १८ हजार ८३८, माओवादीको ४ हजार ९४२, राप्रपाको २ हजार ४९६ र नेकपा एकीकृत समाजवादीको एक हजार ३४२ मत छ ।

गण्डकी प्रदेश

यस प्रदेश अन्तर्गत १८ निर्वाचन क्षेत्र छन् । जसमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट, देवप्रसाद गुरुङ लमजुङबाट, देवेन्द्र पौडेल बागलुङ-२ बाट र रामजीप्रसाद बराल कास्की ३ बाट उम्मेदवार छन् ।

गोरखा–२ बाट अध्यक्ष प्रचण्डले उम्मेदवारी दिएका छन् । स्थानीय तहको जनमत अनुसार यहाँ नेकपा माओवादी केन्द्र पहिलो पार्टी छ । त्यसमा पनि सत्तारुढ दलबीच गठबन्धन भएकाले प्रचण्डलाई चुनाव जित्न सहज देखिएको छ ।

यहाँबाट एमालेका अब्दुस मियाँले पनि उम्मेदवारी दिएका छन् । पार्टीबाट उठ्ने बलियो उम्मेदवार नभएपछि एमालेले नवप्रवेशी मियाँलाई उम्मेदवार बनाएको हो । यस क्षेत्र अन्तर्गत ५ स्थानीय तह पर्छन् । जसमा पालुङटा नगरपालिका, सिरानचोक गाउँपालिका, सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाका ८ देखि १४ सम्मका वडा पर्छन् ।

स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडामा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतअनुसार माओवादीको २२ हजार २५०, काँग्रेसको २१ हजार १३६, एमालेको ७ हजार ९२६, जसपाको ७ हजार ५०४ र राप्रपाको ८७८ मत छ ।

यस्तै लमजुङबाट माओवादी केन्द्रका देवप्रसाद गुरुङले गठबन्धनबाट उम्मेदवारी दिएका छन् । यसअघि पनि यसै जिल्लाबाट निर्वाचित गुरुङ दोस्रो पटक यहाँबाट उम्मेदवार बनेका हुन् । गुरुङको प्रतिद्वन्द्वीका रूपमा एमालेका पृथ्वी सुब्बा गुरुङले उम्मेदवारी दिएका छन् ।

तर, लमजुङका ८ स्थानीय तहको वडा अध्यक्षका मत केलाउँदा गठबन्धन उम्मेदवार देव गुरुङ अघि देखिन्छन् । यहाँ एमालेको ४० हजार १९७, काँग्रेसको ३५ हजार २७६, माओवादी केन्द्रको ६ हजार १२७, राप्रपाको एक हजार १८४ र जसपाको १९० मत रहेको स्थानीय तह निर्वाचन परिणामले देखाउँछ ।

बागलुङ-२ बाट माओवादीका देवेन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । संघीय सरकारका बहालवाला शिक्षा मन्त्री पौडेलको प्रतिस्पर्धीका रूपमा एमालेका मञ्जु शर्मा उम्मेदवार छिन् । जनमतमा माओवादी तेस्रो भएकाले गठबन्धनले साथ दिएमा मात्रै पौडेलले चुनाव जित्न सक्ने अवस्था छ ।

यस क्षेत्र अन्तर्गत ६ स्थानीय तह पर्छन् । जसमा गलकोट नगरपालिका, ढोरपान नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाढ गाउँपालिका, तमानखोला र निसिखोला गाउँपालिका छन् । ती स्थानीय तहका वडा अध्यक्षको मतलाई केलाउँदा पौडेल ग्रीन जोनमा देखिएका छन् ।

यहाँ एमालेको १९ हजार ३०, काँग्रेसको १७ हजार ७५१, माओवादीको ९ हजार ७५१, राजमोको ६ हजार ६७८, नेकपा एकीकृत समाजवादीको ३८८ मत छ । यस्तै कास्की-३ बाट रामजीप्रसाद बरालले माओवादीबाट उम्मेदवारी दिएका छन् । गठबन्धनबाट उम्मेदवारी दिएका बरालसँग एमालेका दामोदर पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।

यस क्षेत्रमा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४, २५ वडा पर्छन् । ती वडामा वडा अध्यक्ष पदका उम्मेदवारले गत स्थानीय तह निर्वाचनमा पाएको मतका आधारमा यहाँ गठबन्धनका उम्मेदवार बराल बलियो देखिएका छन् ।

यहाँ एमालेको २९ हजार ८०५, काँग्रेसको २८ हजार ८४६, माओवादीको २ हजार ४००, राप्रपाको एक हजार ६५ र नेकपा एकीकृत समाजवादीको ५०१ मत छ ।

लुम्बिनी प्रदेश
यस प्रदेशबाट प्रतिनिधिसभामा २६ क्षेत्र कायम गरिए पनि गठबन्धनबाट माओवादीको भागमा ६ निर्वाचन क्षेत्रमात्र परेको छ । जसमा कपिलबस्तु-१ बाट चक्रपाणी खनाल, रुकुम पूर्वबाट पूर्णबहादुर घर्तीमगर, रोल्पाबाट वर्षमान पुन, दाङ-२ बाट रेखा शर्मा, बाँके-१ बाट महेश्वरजंग गहतराज र बर्दिया-२ बाट सुरेश पन्थ उम्मेदवार छन् ।

कपिलबस्तु-१ बाट माओवादीका चक्रपाणी खनाल उम्मेदवार छन् । यहाँ एमालेबाट बलराम अधिकारी उम्मेदवार छन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यहाँ सत्तारुढ गठबन्धनको पल्ला भारी छ ।

यस क्षेत्र अन्तर्गत वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धोदन गाउँपालिका छन् । यस्तै कपिलबस्तु नगरपालिकाका वडा नम्बर ७, ८, ९ र १० पनि यसै निर्वाचन क्षेत्रमा पर्दछन् । ती वडा अध्यक्षको मतका आधारमा यहाँ कांग्रेसको २८ हजार २७१, एमालेको २६ हजार ८२३, जसपाको १३ हजार ५१०, माओवादी केन्द्रको ९ हजार ३३८, नेकपा एकीकृत समाजवादीको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४ र राप्रपाको २ हजार ४८० मत छ ।

यस्तै रुकुम पूर्वबाट पूर्णबहादुर घर्तीले माओवादीबाट उम्मेदवारी दिएका छन् । माओवादीको आधार इलाका, त्यसमा पनि गठबन्धन भएकाले घर्तीलाई चुनाव जित्न सहज छ । घर्तीको प्रतिद्वन्द्वीको रूपमा एमालेका कैलाशकुमार मल्ल उम्मेदवार छन् । यस क्षेत्रका तीन पालिका रहेकोमा सबै पालिकामा माओवादीले जितेको छ ।

यहाँ माओवादी केन्द्रको ११ हजार ६२१, कांग्रेसको ६ हजार ५३३ र एमालेको ४ हजार ५२१ मत छ । यस्तै, रोल्पाबाट माओवादीका वर्षमान पुनले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । रोल्पा आफैमा माओवादीको आधार इलाका हो । पुनको प्रतिस्पर्धीका रूपमा एमालेबाट पूर्ण बुढा मगरले उम्मेदवारी दिएका छन् । पुन र बुढामगर दुवै पूर्व सहकर्मीसमेत हुन् ।

रोल्पाका एक नगरपालिका सहित १० स्थानीय तह छन् । वडा अध्यक्षको मतका आधारमा पुनको अवस्था निकै बलियो देखिन्छ । यहाँ माओवादीको ४० हजार ७९१, कांग्रेसको २४ हजार ६६४, एमालेको १५ हजार ३०१, राप्रपाको एक हजार २१८ र नेकपा एकीकृत समाजवादीको ९५० मत छ ।

दाङ-२ बाट माओवादीकी रेखा शर्माले उम्मेदवारी दिएकी छन् । यहाँ एमालेबाट शङ्कर पोखरेलले उम्मेदवारी दिएका छन् । एमाले महासचिव र पूर्व मुख्यमन्त्री पोखरेलको गृह जिल्लासमेत भएकाले यहाँ एमालेको राम्रो प्रभाव छ । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत अनुसार झिनो मतान्तरले गठबन्धन अघि देखिन्छ ।

यस क्षेत्रमा बंगलाचुली गाउँपालिका सहित तुलसीपुरका १६, १७, १८, १९ वडा मात्रै पर्छन् । घोराही उपमहानगरका १९ वडामध्ये १, २, ३, ५ यसै क्षेत्रमा पर्छन् । वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत अनुसार यहाँ एमालेको ३३ हजार ५९३, कांग्रेसको २३ हजार ३०१, माओवादीको १० हजार ४७८, राप्रपाको ३ हजार २६४ र नेकपा एकीकृत समाजवादीको २ हजार ९४२ मत छ ।

बाँके-१ बाट गठबन्धनका साझा उम्मेदवारको रूपमा माओवादी नेता महेश्वरजंग गहतराज ‘अथक’ उम्मेदवार छन् । गहतराज संघीय सरकारको खेलकुद मन्त्रीको जिम्मेवारीमा छन् । उनको निकटम प्रतिस्पर्धी एमालेका सूर्यप्रसाद ढकाल छन् ।

यस क्षेत्रमा जनमतमा माओवादी तेस्रो भए पनि गठबन्धनले साथ दिएकाले गहतराज बलियो उम्मेदवार मानिएका छन् । यस क्षेत्रमा कोहलपुर नगरपालिकासहित नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिका पर्छन् । ती पालिका अन्तर्गतका वडा अध्यक्षको मत गणना गर्दा गतहराज सुरक्षित देखिएका छन् । यहाँ कांग्रेसको २८ हजार ६१९, एमालेको २५ हजार ३१०, माओवादीको १७ हजार ११०, राप्रपाको ४ हजार ७८९, जसपाको ३ हजार ९५१, नेकपा एकीकृत समाजवादीको ६२३, लोसपाको ३६१ मत छ ।

बर्दिया-२ बाट माओवादीका सुरेश पन्थले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धीका रूपमा एमालेका पंकजसिंह राठौर मैदानमा उत्रिएका छन् । यस क्षेत्रमा जनमतमा माओवादी दोस्रो र एमाले तेस्रो छ ।

यस क्षेत्रमा ५ स्थानीय तह पर्छन् । जसमा मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र बर्दिया नगरपालिकाका १, २, ३ वडा पर्छन् । ती स्थानीय तहको निर्वाचित वडा अध्यक्षको मत गणना गर्दा माओवादी उम्मेदवार पन्थ अगाडि देखिएका छन् ।

यहाँ कांग्रेसको ३८ हजार ३५२, माओवादी केन्द्रको ३० हजार ७९८, एमालेको २३ हजार ३२०, राप्रपाको एक हजार ५०२, नेकपा एकीकृत समाजवादीको ७२८ र जसपाको २३४ मत छ ।

कर्णाली प्रदेश

यो प्रदेश अन्तर्गत प्रतिनिधिसभाका १२ क्षेत्रमध्ये माओवादीले गठबन्धनभित्रको भागबण्डाका अनुसार ५ सिटमा उम्मेदवारी दिएको छ । रुकुम पश्चिमबाट प्रतिनिधिसभामा गठबन्धनबाट माओवादीका जनार्दन शर्मा उम्मेदवार छन् ।

शर्माको प्रतिस्पर्धीका रूपमा एमालेका नन्दराम देवकोटा उम्मेदवार छन् । शर्माले २०६४ सालदेखि लगातार तीन पटक यहाँबाट चुनाव जितिसकेका छन् ।

रुकुम पश्चिमका तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा वडा अध्यक्षका उम्मेदवारले ल्याएको मत अनुसार माओवादीको ३७ हजार १०२, कांग्रेसको २६ हजार ६२०, एमालेको ६ हजार १२४, एकीकृत समाजवादीको १३० मत छ ।

यस्तै जाजरकोटबाट माओवादीका शक्तिबहादुर बस्नेत उम्मेदवार छन् । यहाँ कांग्रेसका राजीवविक्रम शाहीले दाबी गरे पनि उनलाई मनाएर बस्नेत गठबन्धनका साझा उम्मेदवार भएका हुन् । एमालेबाट निरजप्रसाद आचार्य उम्मेदवार छन् ।

जाजरकोटमा २ नगरपालिका सहित ७ स्थानीय तह छन् । ती स्थानीय तहको वडा अध्यक्षको मत केलाउँदा बस्नेत ‘ग्रीन जोन’मा देखिएका छन् । यहाँ एमालेको २४ हजार ४, कांग्रेसको २२ हजार ३४२, माओवादीको १८ हजार ६२२, नेकपा एकीकृत समाजवादीको २ हजार ३३४ मत छ ।

यस्तै, कालिकोटबाट माओवादीका महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् । यहाँ एमालेबाट नगिन्द्र शाहीले उम्मेदवारी दिएका छन् । कालिकोटमा ३ नगरपालिका सहित ९ स्थानीय तह छन् । स्थानीय तहको वडा अध्यक्षको मतका आधारमा यहाँ सत्तारुढ गठबन्धन नै हाबी हुने देखिन्छ ।

यहाँ माओवादीको १८ हजार ३४७, कांग्रेसको १२ हजार ८२०, एमालेको १२ हजार ६१३, नेकपा एकीकृत समाजवादीको ३ हजार ५०३ र राप्रपाको ५८० मत छ । हुम्लाबाट प्रतिनिधिसभामा गठबन्धन तर्फबाट माओवादीका छिरिङडम्डुल लामा उम्मेदवार छन् । उनलाई टक्कर दिन एमालेबाट दल रावलले उम्मेदवारी दिएका छन् । लामा पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार भएका हुन् भने रावल यसअघि प्रदेशसभा सांसद र मन्त्रीसमेत हुन् । हुम्लाका सात स्थानीय तहका वडा अध्यक्षको मतलाई हेर्दा यहाँ सत्तारुढ गठबन्धन अघि देखिन्छन् ।

यहाँ माओवादीको ६ हजार ४९३, एमालेको ६ हजार १४७, कांग्रेसको ४ हजार ७६४, नेकपा एकीकृत समाजवादीको ८८८ मत छ । यस्तै जुम्लाबाट माओवादीले गोमा गौतम कुँवरलाई उम्मेदवार बनाएको छ । माओवादी नेता नरेश भण्डारी र गजेन्द्र महतलाई पछि पार्दै कुँवरले गठबन्धनबाट टिकट पाएकी हुन् । एमालेबाट रतननाथ योगी उम्मेदवार छन् । राप्रपाबाट ज्ञानबहादुर शाही समेत उम्मेदवार छन् ।

तर, जुम्लाका १ नगरपालिका सहित ७ पालिका अध्यक्षको मतका आधारमा यहाँ सत्तारुढ गठबन्धन बलियो देखिन्छ । यद्यपि यहाँ माओवादी उम्मेदवार कुँवरविरुद्ध माओवादीकै कलबहादुर रोकायले बागी उम्मेदवारी दिएका छन् ।

वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतअनुसार यहाँ कांग्रेसको १६ हजार ७५, माओवादीको १४ हजार १७५, एमालेको ६ हजार ९६२, नेकपा एकीकृत समाजवादीको ६ हजार १९५ र राप्रपाको ५१४ मत छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र छन् । तीमध्ये माओवादी केन्द्रले सत्तारुढ गठबन्धनबाट ४ क्षेत्रमा उम्मेदवारी दिएको छ । कञ्चनपुर-१ बाट बिना मगर माओवादी केन्द्रबाट उम्मेदवार छिन् । उनी गठबन्धनबाट साझा उम्मेदवार भएकाले काँग्रेस, एकीकृत समाजवादी लगायत दलले साथ दिएका छन् । एमालेबाट तारा लामाले उम्मेदवारी दिएका छन् । उनलाई राप्रपाले साथ दिएको छ ।
यहाँ सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यस क्षेत्रमा पुनर्वास नगरपालिका, बेलैरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिका पर्छन् । ती स्थानीय तहका वडा अध्यक्षको मतका आधारमा एमालेको १८ हजार ७७३, कांग्रेसको १८ हजार ७३२, माओवादीको १५ हजार २८९, एकीकृत समाजवादीको ३ हजार ५२१, राप्रपाको २ हजार ६९२ मत छ ।

यस्तै, कैलाली-२ बाट भगतबहादुर बडुवाल र कैलाली-३ बाट कृष्णकुमार चौधरीले उम्मेदवारी दिएका छन् । एमालेबाट कैलाली २ बाट झापटबहादुर रावल र कैलाली ३ बाट गौरीशङ्कर चौधरीले उम्मेदवारी दिएका छन् ।

कैलाली २ क्षेत्र अन्तर्गत जानकी नगरपालिकाका २, ५, ८, ९ वडा, मोहन्याल गाउँपालिका अन्तर्गत १ देखि ७ वडा पर्छन् । यस्तै लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिका पनि यसै क्षेत्रमा पर्छन् ।

कैलाली–२ मा गठबन्धनको उम्मेदवार बडुवालको विरुद्ध कांग्रेसका नविन बोहराले बागी उम्मेदवारी दिएकाले चुनौती थपिएको छ । यस क्षेत्र अन्तर्गत वडा अध्यक्षको मत परिणामअनुसार एमालेको १७ हजार ८३४, कांग्रेसको १३ हजार ८२०, माओवादीको ८ हजार ७२४, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २४३, राप्रपाको २ हजार ४०७ र नेकपा एकीकृत समाजवादीको २ हजार ३०६ मत देखिन्छ ।

यस्तै कैलाली-३ मा भजनी नगरपालिका अन्तर्गत १, २, ३, ४, ५, ७, ८ वडा, कैलारी गाउँपालिका अन्तर्गत १ देखि ८ वडा, घोडाघोडी नगरपालिका पर्दछ । कैलाली ३ का माओवादीका कृष्णकुमार चौधरी र एमालेका गौरीशङ्कर चौधरी दुवै पूर्व सहकर्मी भएकाले उनीहरूको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

यस क्षेत्र अन्तर्गत वडा अध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा कांग्रेसको १९ हजार ९९२, माओवादीको ११ हजार ७१६, एमालेको ११ हजार २५७, राप्रपाको ६ हजार ६९९, नागरिक उन्मुक्ति पार्टीको ५ हजार २४७, जसपाको २ हजार ८५९ र नेकपा एकीकृत समाजवादीको एक हजार ९७८ मत छ ।

यस्तै बैतडीबाट प्रतिनिधिसभा अन्तर्गत गठबन्धनबाट माओवादीका नरेन्द्रबहादुर कुँवर र एमालेबाट दामोदर भण्डारीले उम्मेदवारी दिएका छन् । माओवादीका कुँवर विरुद्ध कांग्रेसका केशवबहादुर चन्दले बागी उम्मेदवारी दिएका छन् ।

बैतडीका १० स्थानीय तहका वडा अध्यक्षको मत केलाउँदा एमालेका भण्डारी भन्दा माओवादीका कुँवरको पल्ला भारी देखिएको छ । यहाँ एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४०, राप्रपाको २ हजार ४ मत छ ।

Tags :
प्रतिक्रिया दिनुहोस