आज महाकवि देवकोटाको ११४ औँ जन्म जयन्ती मनाइँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज महाकवि देवकोटाको ११४ औँ जन्म जयन्ती मनाइँदै


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्म जयन्ती सोमबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।

दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए। यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो।

नेपाली साहित्यमा स्वच्छन्दतावादी(प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र क्रान्तिकारिता झल्कन्छ। उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रा नन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए।

नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताएका थिए।

विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्त्वपूर्ण योगदान दिएका थिए।

विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासन मन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए। हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो। जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ। वर्तमान नेपाल प्रज्ञा(प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ।

तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने आँसु कवित्वको क्षमता थियो। देवकोटाको कवि(प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ।

विसं २००२ मा किनेर २००४ सालमा देवकोटा सरेको मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ।

महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे। उनले पाश्चात्य ग्रिसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन्। विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन्। देवकोटाको एक मात्र उपन्यास ‘चम्पा’ हो।

नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो।

महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ। यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस