काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटमा श्रीलङ्काले आयरल्यान्डलाई ९ विकेटले हराएको छ।
आइतबार भएको पहिलो खेलमा श्रीलङ्काले आयरल्यान्डमाथि ९ विकेटको रोमाञ्चक जित हात पारेको हो। यो जितसँगै श्रीलङ्का समूह १ को दोस्रो स्थानमा उक्लिएको छ। समान २ अङ्क भए पनि नेट रन रेटका आधारमा न्युजिल्याण्ड पहिलो र इंग्ल्याण्ड तेस्रो स्थानमा छन्। यो समूहमा अफगानिस्तान, आयरल्यान्ड र अस्ट्रेलिया अङ्कको खाता खोल्न सकेका छैनन्।
आयरल्यान्डले दिएको १ सय २९ रनको लक्ष्य श्रीलङ्काले १५ दशमलव १ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलङ्काको जितमा ओपनर कुशल मेन्डिसले विजित ६८ रन बनाउँदा उनले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
अर्का ओपनर धनञ्जय डी सिल्भा ३१ रनमा क्याच आउट भए भने चरिथ असलंका ३१ रनमा नट आउ रहे। आयरल्याण्डका ग्रेथ डिनालेले एक विकेट लिए।
त्यसअघि अस्ट्रेलियाको होर्बाटमा टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।
आयरल्याण्डका लागि ह्यारी टेक्टरले सर्वाधिक ४५ रन बनाउँदा ओपनर पल स्टर्लिङले ३४ रन बनाए। श्रीलङ्काका लागि महेश थाक्सेना र वानिन्डु सिल्भाले सर्वाधिक दुई विकेट लिए ।