राप्रपाले समानुपातिकमा ३० लाख भोट ल्याउँछ : राजेन्द्र लिङ्देन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राप्रपाले समानुपातिकमा ३० लाख भोट ल्याउँछ : राजेन्द्र लिङ्देन


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ३० लाख भोट ल्याउने दाबी गरेका छन् ।

आइतबार काठमाडौँ क्षेत्र नम्बर २ मा राप्रपाले तिहार, नेपाल संवत् र छट पर्वका अवसरमा गरेको कार्यक्रममा राप्रपाले अघिल्लो निर्वाचनका बेलाभन्दा राम्रो प्रगति गर्ने बताएका हुन् ।

उनले यो पटकको चुनावमा राप्रपा उच्च मनोबलका साथ अघि बढेको उल्लेख गर्दै राष्ट्रप्रेमी जनताले साथ दिने उल्लेख गरे । कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने–‘आगामी मंसिर ४ गते देशमा सबैभन्दा ठूला महायज्ञ हुँदैछ । त्यो महायज्ञमा हामीले सही पार्टी, सही र सही सिद्धान्त बोकेका सही नेतृत्व छान्न आवश्यक छ । त्यो मौका गुमाइयो भने यो महायज्ञ असफल हुनेछ ।’

उनले राप्रपा नेपाली संस्कार, संस्कृति, हिन्दु धर्म र परम्परालाई जोगाउन २०६२र६३ को आन्दोलनदेखि लगेको बताए । मुलुकमा राजासहितको प्रजातन्त्रलाई स्थापित गर्दै सङ्घीयता खारेजीको लागि लडिरहेको सुनाए ।

उनले मुलुक अहिले गलत नेतृत्वका कारण ठिक ढङ्गले अगाडि नबढेको प्रति लक्षित गर्दै सही नेतृत्व र सिद्धान्त लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी अघि बढेको उल्लेख गर्दै जनतालाई मत दिन आग्रह गरे । उनले काठमाडौँ क्षेत्र नम्बर २ बाट उम्मेदवार कुन्तीदेवी पोखरेललाई विजयी गरेर पठाउन आग्रह गरे ।

उनले विपक्षी दलहरूले सानो पार्टी भनेर हेला गर्ने गरे पनि यसपटकको निर्वाचनमा जनताले राप्रपालाई अगाडि बढाउने बताए । उनले काठमाडौँ महानगरपालिकाको चुनावको उदाहरण दिँदै सुरुमा बालेन शाहलाई विपक्षीले खिसी टिउरी गर्ने गरे पनि भोटको बाकस खोल्ने बेला जनताले जवाफ दिएको बताए । आगामी निर्वाचनमा पनि राप्रपालाई जनताले अमूल्य मत दिएर विपक्षी दलहरूलाई जवाफ दिने उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस