काठमाडौँ । नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ मा कर्मचारीलाई अति दुर्गम क्षेत्रमा कम्तीमा एक वर्ष वा दुर्गम क्षेत्रमा कम्तीमा दुई वर्ष पूरा नभई सामान्यतया सरुवा गरिने छैन भन्ने उल्लेख छ । तर, यो नियम रसुवा अस्पतालकी प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट एनेसथेसियोलोजिस्ट डा. शान्ति भुर्तेल नेपाल (दशौँ तह)को हकमा भने लागू भएन । उनलाई यो अवधि पुग्नु २ महिना अघि नै सरुवाको पत्र थमाइएको छ । डा. भुर्तेलको सरुवा नीति/नियमका आधारमा भन्दा पनि व्यक्तिगत प्रतिशोधका आधारमा गरेको देखिन्छ ।
डा. भुर्तेलको सरुवामा मात्रै होइन, अस्पतालमा आठौँ तहका कर्मचारी हुँदाहुँदै कनिष्ठलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । भिम सागर गुरागाईँद्वारा २०७९ असोज ७ गते हस्ताक्षरित रमाना पत्रमा स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको २०७९ भदौ १५ को पत्रको आधारमा डा. भुर्तेललाई धादिङ अस्पतालमा सरुवा गरिएको उल्लेख छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत गुरागाईँलाई (सातौँ तह)२०७९ असोज ५ को सचिव स्तरको निर्णय अनुसार रसुवा अस्पतालको निमित्त प्रमुख तोकेको थियो ।
निमित्त प्रमुखले २०७९ भदौ १५ को निर्णय कार्यान्वयनका लागि २०७९ असोज ७ मा रमाना पत्र लेख्नु र २ दिनमै २०७९ सोज ९ मै लागू हुने गरी पत्र काट्नुलाई हतारको कामका रूपमा लिन सकिन्छ । नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ३६, उपनियम १ अनुसार सरुवा भई जानुपर्ने भएमा बरबुझारथ गर्नुपर्ने र त्यसका लागि २१ दिनको समय रहने उल्लेख भए पनि २०७९ असोज ९ देखि लागू हुने गरी रमाना पत्र बनाइएको छ । अर्कोतर्फ रमाना पत्रमा उल्लेख गर्नु पर्ने सबै विवरणहरू उल्लेख गरिएको छैन । डा. भुर्तेलले बिदा लिएको नलिएको बारे केही उल्लेख गरिएको छैन ।
रमाना पत्रमा सुरुमा क्षय कुष्ठ सुपरभाइजर निरीक्षक जयराम दुवाडीको नाम उल्लेख छ भने तल विवरणमा डा. भुर्तेलको नाम उल्लेख छ । रमाना पत्रमा पूर्ण विवरण नहुनुले पनि के स्पष्ट हुन्छ भने हतार हतारमा पत्र तयार पारिएको थियो ।
स्वास्थ्य मन्त्रालयले वरिष्ठ कर्मचारी हुँदाहुँदै २०७९ असोज ५ गते स्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत भिम सागर गुरागाईँलाई रसुवा अस्पतालको निमित्त प्रमुख तोकेको पाइएको छ । आठौँ तहमा कार्यरत फार्मेसी अधिकृत राजेश श्रेष्ठको बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७९ असोज ५ गते काज फिर्ता बदर गरेको थियो । आठौँ तहका कर्मचारी हुँदाहुँदै सातौँ तहको कर्मचारीलाई निमित्त प्रमुख तोकिनु पनि हतारको निर्णयका रूपमा लिन सकिन्छ । डा. भुर्तेलको सरुवा, श्रेष्ठको काज फिर्ता बदर र गुरागाईँलाई निमित्त प्रमुख तोक्दा सरकारी निकायहरू बिच नै तालमेल र समन्वय भएको पाइँदैन । साथै उनीहरूबिच साँठगाँठ पनि देखिन्छ । जसले के स्पष्ट हुन्छ भने एउटा निकायको निर्णय अर्कोलाई थाहा छैन र नियमसंगत भन्दा पनि व्यक्तिगत इन्ट्रेस्ट र रिसइवी साध्न निर्णय भएको देखिन्छ ।
स्वास्थ्य मन्त्रालयले व्यक्ति केन्द्रित भएर नियमको भ्रामक प्रयोग गरी दशौँ तहको (डा. भुर्तेल)को अधिकार कुण्ठित गरी गलत मनसायले सातौँ तहको जनस्वास्थ्यको कर्मचारीलाई अस्पताल प्रमुख बनाउन प्रयास गरेको भन्दै सरकारी चिकित्सक सङ्घ नेपालले आपत्ति जनाएको छ । सङ्घले विज्ञप्ति निकालेर वरिष्ठ कर्मचारीको इच्छा विपरीत कनिष्ठ कर्मचारीलाई आर्थिक एवं प्रशासनिक अधिकार सुम्पन खोज्नु गलत मनसाय पूर्ण रहेको जनाएको छ । सङ्घका अध्यक्ष डा. रवीन खड्काले स्वास्थ्यका कर्मचारी सरुवामा पहिलेदेखि नै बेथिति रहेको गुनासो गरे ।
‘दुर्गमको अस्पतालमा दशौँ तहको डाक्टर जानु राम्रो हो । तर, दशौँ तहको डाक्टरले काम गर्छु भन्दाभन्दै सरुवा गरेर कनिष्ठ कर्मचारीलाई जिम्मेवारी दिनु भनेको डाक्टरहरू माथिको गम्भीर अन्याय हो । यस्तै अवस्था जारी रहने हो भने दुर्गममा डाक्टरहरू जानै चाहँदैनन् ।’ उनले यस विषयमा सम्बन्धित निकायमा जानकारी गराएको र यसबारे सुनुवाइ नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले डा. भुर्तेलको सरुवाको विषयमा आफू अनविज्ञ रहेको बताए । उनले भने, ‘त्यो मलाई थाहा भएन । मैले ग¥या होइन । मुख्यमन्त्री कार्यालयलाई बुझ्नुस् ।’ यस विषयमा बुझ्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता रमेश कुमार उपाध्याय लुइँटेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको सरुवामा डा. शान्ति भुर्तेलको नाम नभएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको २०७९ भदौ २० को पत्रमा डा. भुर्तेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको २०७९ साउन २४ को कामकाजको सहमति पत्रानुसार धादिङ अस्पतालमा खटाइको उल्लेख छ । सरुवाका लागि मन्त्रालयले २०७९ साउन १० मा पत्रमार्फत मागेको सहमतिमा मुख्यमन्त्री कार्यालयले सरुवा सहमति दिएको थियो । उनको सरुवाका विषयमा उजुरी परेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिले छानबिन समिति गठन गरेको छ । र, समितिको प्रतिवेदन प्राप्त नहुँदासम्म रसुवा अस्पतालमा नै यथावत कामकाज गर्न भनेको छ ।
डा. भुर्तेलले रसुवा अस्पताल प्रमुखको पद समालिरहेकै बेला उनलाई कुनै जानकारी नदिई स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत भिम सागर गुरागाईंलाई अस्पतालको जिम्मेवारी तोकेको थियो । सरुवाबारे बुझ्दा डा. भुर्तेलले आफू कानुनी लडाइँमा रहेको प्रतिक्रिया दिइन् । उनले भनिन् ‘मेरो अवधि पुगेको छैन, अझै दुई महिना बाँकी छ । बदनियत रूपमा मेरो सरुवा गरिएको छ । म कानुनी लडाइँमा छु । न्याय पाउने आश छ ।’
पछिल्लो समय सरुवा तथा खटनपटनमा निहित समूहको मनोमानी चल्दै आएको छ । निश्चित केही ग्रुपहरुले आफू अनुकूल तथा प्रतिकुल कर्मचारीलाई काखापाखा गर्ने मात्रै होइन, भनेको नमाने भित्तै पुर्याउने सम्मका कुकृत्यसमेत गरेको भेटिएको छ । प्रणाली स्थापित गर्ने जिम्मेवारी पाएका अधिकारीहरू नै यसमा सक्रिय हुन थालेपछि के होला ?