अब घरजग्गा रोक्का-फुकुवा बैङ्कबाटै « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

अब घरजग्गा रोक्का-फुकुवा बैङ्कबाटै


३ कार्तिक २०७९, बिहिबार


काठमाडौं । अब घरजग्गा रोक्का-फुकुवा बैङ्कबाटै हुने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र मेगा बैङ्क नेपाल लिमिटेड बिच बिहीबार भू-सेवा प्रणालीमार्फत घरजग्गा रोक्का-फुकुवा सम्बन्धी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएपछि अब घरजग्गा रोक्का-फुकुवाका लागि मालपोत कार्यालय धाउनु नपर्ने भएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया र मेगा बैङ्क नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का-रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

विभागमा आयोजित कार्यक्रममा समझदारी पत्रमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका तर्फबाट महानिर्देशक पीताम्बर घिमिरे र मेगा बैङ्कका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरे ।

मेगा बैङ्कले नेपालमै पहिलो पटक विभागसँगको समन्वयमा भू-सेवा केन्द्र सञ्चालन निर्देशिका, २०७६ तथा भू-सेवा केन्द्र सञ्चालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू-सेवा केन्द्र सञ्चालनको अनुमति लिई घर, जग्गाको रोक्का-फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरुवात गरेको हो । भू-सेवा केन्द्र सञ्चालनमा आएपछि घर, जग्गाको रोक्का-फुकुवाका लागि बैङ्कको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरूमा उपस्थित नभई बैङ्ककै भू-सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरू अनलाइनमार्फत पेस गरे पुग्नेछ ।

यसअघि विभागले अनलाइनबाटै घरजग्गा रोक्का-फुकुवा गर्ने गरी कर्मचारी सञ्चय कोषसँग सम्झौता गरिसेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस