धनराज गुरुङ र पद्मा अर्यालबीच पहिला पटक प्रतिस्पर्धा हुँदै, यस्तो छ अङ्क गणित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धनराज गुरुङ र पद्मा अर्यालबीच पहिला पटक प्रतिस्पर्धा हुँदै, यस्तो छ अङ्क गणित


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । मंसिर ४ को चुनावमा स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ।

गुरुङ पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेका छन् भने पद्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।

२०७४ मा तत्कालीन एमाले र माओवादीबीच तालमेल गरेर वाम गठबन्धन बनेको थियो। स्याङ्जा(२ मा काँग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई हराएर त्यसबेला पद्माले चुनाव जितेकी थिइन्।

गोपालमानले ३१ हजार ४ सय ३६ मत ल्याउँदा पद्माले ३५ हजार १ सय ४२ मत ल्याएकी थिइन्।

२०७४ मा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र यसपालि नेपाली काँग्रेससहितको सत्ता गठबन्धनमा सामेल छ।

स्याङ्जामा यसअघि चुनाव जितेकी र केपी शर्मा ओली नेतृत्वको सरकारमा भूमि व्यवस्था मन्त्रीसमेत भएकी पद्मा र पहिलो पटक चुनाव लड्न लागेका धनराजबीचको प्रतिस्पर्धालाई स्याङ्जाका बासिन्दाले पनि चासोसाथ हेरेका छन्।

स्याङ्जा क्षेत्र नम्बर २ मा चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, वालिङ नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४ पर्छ भने भिरकोट नगरपालिकाको ५, ६, ७, ८ र ९ वडा तथा कालिगण्डकी गाउँपालिका पर्छन्।

गत वैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा स्याङ्जा २ मा नेपाली काँग्रेस अगाडि छ।

नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले मत ३६ हजार ८ सय ६ मत ल्याएका छन् भने यहाँ नेकपा एमालेका वडाध्यक्षहरूले पाएको मत ३४ हजार ८ सय ९ मत छ। नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरूले १ हजार ४ सय ४७ मत ल्याएका छन्। राप्रपाले ५११, एकीकृत समाजवादीले २३३ मत ल्याएका छन्।

स्याङ्जा(२ मा नेकपा (एकीकृत समाजवादी) को मत खासै छैन। सत्ता गठबन्धनमा रहेका काँग्रेस(माओवादीको मत ३८ हजार २ सय ५३ हुन्छ भने यहाँ अर्को मुख्य प्रतिस्पर्धी नेकपा एमालेको मत ३४ हजार ८ सय ९ हुन्छ। सत्ता गठबन्धन र एमालेबीच स्थानीय चुनावको मत हेर्दा चार हजार बढी मतान्तर देखिन्छ।

सत्ता गठबन्धनका उम्मेदवार धनराज र एमाले उम्मेदवार पद्माले आफूले चुनाव जित्ने दाबी गरिरहेका छन्। उनीहरू चुनावी प्रचारका कार्यक्रमहरू गरिरहेका छन्।

धनराज निष्ठा र नैतिकताको राजनीति आफूले गर्न चाहेको र भ्रष्टाचार गर्नेहरूलाई जनताले मत दिन नहुने बताउने गर्छन्।

उनले भ्रष्ट प्रवृत्ति बदल्नुपर्ने र गरिबी हटाउनु पर्नेमा जोड दिँदै आएका छन्।

एमाले उम्मेदवार पद्माले आफू भूमि मन्त्री हुँदा जारी गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्साअनुसार भूमि फिर्ता ल्याउन एमालेको सरकार बन्नुपर्ने बताउने गरेकी छन्।

उनले चुनावी भाषणमा ‘चुच्चे नक्सा’का कुरा प्राथमिकताका साथ उठाउने गरेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस