मिर्गौला निकालेर प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मिर्गौला निकालेर प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ ।

चिकित्सकले दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि योग्य नभएको बताएका छन्, तर बिरामीका आफन्तले चिकित्सकीय लापरबाही भन्दै विरोध गरेका छन् ।

मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी भएको थियो । ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तय भएको थियो ।

अस्पताल स्रोतका अनुसार मिर्गौला प्रत्यारोपण सर्जन डा.पारसमणि श्रेष्ठ र डा.अनिल श्रेष्ठले गर्दै थिए । उनीहरू दुवै वीरमा मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएका चिकित्सक हुन् ।

अस्पतालका निमित्त प्रमुख डा.भूपेन्द्र बस्नेतका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो ।

अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा.प्रवीण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा.सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा.शेष ढुङ्गाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईँ, एनेस्थेसिया विभागकी डा.ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का छन् ।

बिरामीका आफन्तले घटनाको जानकारी नदिएको भन्दै चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् । चिकित्सकको टिम शल्यक्रिया कक्षबाट बाहिरिएको केही बेरपछि मात्रै बिरामीका आफन्तले मिर्गौला प्रत्यारोपण नभएको थाहा पाएका थिए । त्यसपछि आक्रोशित बिरामीका आफन्तले अस्पतालका निमित्त प्रमुख डा.बस्नेतलाई मंगलबार राति १२ बजेसम्म कार्यकक्षमै रोकेर राखेका थिए ।

बिरामीका आफन्तले उक्त घटनामा संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका छन् । बिहीबार शल्यक्रियामा संलग्न चिकित्सक, बिरामीका आफन्त, अस्पतालका प्रशासनबिच छलफल भइरहेको छ । निमित्त प्रमुख डा.बस्नेतले छानबिन समितिको प्रतिवेदनका आधारमा अघि बढ्ने प्रतिक्रिया दिए ।

६ महिनादेखि डाइलाइसिस गराइरहेकी ती बिरामी अन्य अस्पतालमा ढिलो हुने भएपछि मिर्गौला प्रत्यारोपण गर्न वीर अस्पतालमा आएकी थिइन् ।

बिरामीका आफन्तले प्रत्यारोपण गर्ने मिर्गौलाको बायोस्पी गर्न वीर अस्पतालमै व्यवस्था हुँदाहुँदै सर्जनले आफू कार्यरत निजी अस्पताल पठाएको, आफूहरूलाई मिर्गौला प्रत्यारोपणका विषयमा स्पष्ट जानकारी नगराएको भन्दै गम्भीर लापरबाही भएको बताएका छन् ।

मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार यस्तो घटना सम्भवतः नेपालमै पहिलो हो । मिर्गौला प्रत्यारोपणका क्रममा कहिलेकाहीँ सामान्य समस्या हुनु स्वभाविक भए पनि मिर्गौला काम लाग्ने-नलाग्ने वा प्रत्यारोपण गर्न सक्ने-नसक्ने कुरा दाताबाट निकाल्नुअघि नै थाहा हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस