रियाललाई शीर्ष स्थानमा ६ अङ्कको अग्रता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रियाललाई शीर्ष स्थानमा ६ अङ्कको अग्रता


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । बालोन डी’अर अवार्ड विजेता करिम बेन्जेमाले गोल गरेको खेलमा रियाल मड्रिडले बुधबार राति इल्चेलाई ३-० ले हराएको छ । यससँगै रियालले शीर्ष स्थानमा ६ अङ्कको अग्रता लिन सफल भएको छ ।

बेन्जेमाको पहिलो दुई गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले मान्यता दिएन । अन्ततः ७५औँ मिनेटमा बेन्जेमाले रोड्रिगोको पासमा गोल गर्दै रियालको अग्रता दोब्बर बनाए । त्यसअघि रियालले ११ औँ मिनेटमा फेडरिको भाल्भार्डेको गोलबाट अग्रता लिएको थियो ।

बेन्जेमाले छैटौँ र ६१ औँ मिनेटमा मिनेटमा गरेको गोललाई भीएआरले अफसाइड घोषित गरिदिएको थियो । २६औँ मिनेटमा डेबिड अलाबाले गरेको गोललाई पनि भीएआरले अफसाइड घोषित गरिदिएको थियो ।

खेल सकिन एक मिनेट बाँकी हुँदा रोड्रिगोकै पासमा बैकल्पिक खेलाडी मार्को असेन्सियोले अर्को गोल थपेपछि रियालले ३–० को सहज जित निकाल्यो ।

आइतबार एल क्लासिकोमा ३-१ को विजय हासिल गरेपछि रियालले खेलअघि शीर्ष स्थानमा बार्सिलोनालाई तीन अङ्कले पछि पारेको थियो । इल्चेविरुद्धको जितपछि रियालले दोस्रो स्थानको बार्सिलोनालाई ६ अङ्कले पछाडि पारेको छ । तथापि, बार्सिलोनाले एक खेल कम खेलेको छ ।

रियालले १० खेलबाट २८ अङ्क जोडेको छ भने बार्सिलोनाको २२ अङ्क छ । तेस्रो स्थानको रियाल सोसिडाडले पनि १० खेलबाट २२ अङ्क जोडेको छ । सोसिडाडले मायोर्कालाई १-० ले हराएको थियो । ला लिगाकै अन्य खेलमा रियाल भालाडोडिडले सेल्टा भिगोलाई ४-१ ले हरायो । काडिज र रियाल बेटिसले गोलरहीत बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस