अपूर्व क्षितिजविरुद्ध एकसाथ ४ वटा मुद्दा दर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अपूर्व क्षितिजविरुद्ध एकसाथ ४ वटा मुद्दा दर्ता


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिजविरुद्ध एकसाथ ४ वटा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता गराएको हो ।

जातीय विभेदविरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्‍याउन नहुने कसुर, सामाजिक रीतिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने, जातिवादका आधारमा छुवाछुत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।

जातीय विभेदसम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले उनलाई असोज ३१ मा दोस्रो पटक पक्राउ गरेर हिरासतमा राखेको थियो । कोरोना भाइरस संक्रमण भएपछि यसअघि उनी भदौ २२ मा हाजिर जमानीमा रिहा भएका थिए । बुधवार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेसँगै बिहीबारदेखि उनीविरुद्ध थुनछेक बहस सुरु हुने बताइएको छ ।

अपूर्वमाथि नेवा: समुदायको भावनामा आँच पुर्‍याएको आरोप छ । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा नेवारी समुदायले आपत्ति जनाएको थिए । विवाद भएपछि सिंहले सो भिडियो युट्युबबाटै हटाएका छन् । उनी भदौ १२ मा पहिलो पटक पक्राउ परेका थिए ।​

Tags :
प्रतिक्रिया दिनुहोस