आर्चरीमा चार स्वर्णसहित गण्डकी अग्रस्थानमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आर्चरीमा चार स्वर्णसहित गण्डकी अग्रस्थानमा


२ कार्तिक २०७९, बुधबार


अन्नपूर्ण । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरी प्रतियोगितामा गण्डकी अग्रस्थानमा छ । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । आर्चरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये सात स्वर्णको छिनोफानो मङ्गलबार भएको हो ।

गण्डकीले थप दुई रजत जित्यो भने एउटा कास्य हात पार्न सक्यो । आर्मीले थप चार कास्य पदक प्राप्त गरेको छ । एपीएफले एक रजत, दुई कास्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत, एक कास्यमा सीमित रहँदा प्रदेश १ ले एक रजत र सुदूरपश्चिमले एक रजत जित्न सक्यो ।

नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकीले रिकर्भ मेन टिम, रिकर्भ मिक्स टिम, कम्पाउण्ड मेन टिम र स्टान्डर्ड मेन टिममा स्वर्ण जितेको हो । नेपाल आर्मीले स्टान्डर्ड वुमन टिम र स्टान्डर्ड मिक्स टिममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपिएफले कम्पाउण्ड मिक्स तर्फ स्वर्ण हात पारेको हो । रिकर्भ मेन टिममा गण्डकीले नेपाल पुलिसलाई फाइनलमा सोझो सेटले जित्यो । अशिम शेरचन, गङ्गा कुँवर, देउ रोक्का, लुद्र राना मगरको समूहले पुसिलको टिमलाई ३-० स्कोरले जितेका छन् । तेस्रो स्थानमा रहेको एपीएफले सुदूरपश्चिमलाई पराजित गर्यो ।

रिकर्भ मिक्स टिमतर्फ गण्डकीले एपीएफलाई ५-३ स्कोरले पराजित गरेको हो । एपिएफको विराट थापा र गीता खत्रीको जोडीलाई गण्डकीका गङ्गा कुँवर र रोजिना थापा मगरको जोडीले ४-२ स्कोरले पराजित गरेका हुन् । आर्मीले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । कम्पाउण्ड मेन टिम तर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको हो ।

योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षेत्री, युवराज लामा सम्मिलित टिमले एपीएफलाई १४४-१४१ स्कोरले हरायो । आर्मीले सुदूरपश्चिमलाई पराजित गर्दै कास्य पदक हात पारेको हो । स्टान्डर्ड वुमन टिम नेपाल आर्मीले प्रदेश १ लाई ६-० को सोझो तीन सेटमा हराएको हो । आर्मीका लागि शारदा विक, सरु तमाङ, खड्गकुमारी थापा मगर र तुलसी थापा मैदानमा उत्रिएका थिए ।

यस्तै, गण्डकीले एपीएफलाई पराजित गर्दै कास्यमा सीमित भयो । गण्डकीका तर्फबाट अनुष्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङ खेलेका थिए । स्टान्डर्ड मिक्स टिमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो तीन सेटमा हराएको हो । आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा विक तथा गण्डकीका तर्फबाट दुर्गा घर्ती मगर र अनुष्का शेरचन खेलेका थिए । एपीएफले प्रदेश १ लाई हराउँदै कास्य जित्यो ।

कम्पाउण्ड मिक्स टिममा एपीएफले गण्डकी प्रदेशलाई १४७-१३० स्कोरले हराउँदै स्वर्ण जित्यो । सुदूरपश्चिमले वाकओभर दिँदा आर्मीले कास्य जित्यो । स्टान्डर्ड मेन टिमतर्फ गण्डकीले सूदरपश्चिमलाई सोझो तीन सेटमा हरायो । नेपाल पुलिसले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । आर्चरीमा अन्तिम दिन आज ६ वटा स्वर्णका लागि खेल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस