६७ औँ प्रहरी दिवस : चौबीस घण्टे सेवा : न बिदा न सुविधा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

६७ औँ प्रहरी दिवस : चौबीस घण्टे सेवा : न बिदा न सुविधा


३१ आश्विन २०७९, सोमबार


चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ ।

सार्वजनिक बिदा होस् वा पर्व उनीहरूका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरू सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रवारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् ।

यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरूलाई कमै मात्र पाउँछन् । सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक् र कडाइका साथ उनीहरू खट्नु पर्छ । यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरूले पाउँदैनन् । थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरूले राष्ट्रलाई दिइरहेका हुन्छन् । उनीहरूले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गर्दछ ।

घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक २६ हजार ८२ मात्रै रहेको छ । यो उनीहरूको परिश्रमको आधारमा न्यून हो । यही सङ्गठनले आज ६७ औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । एउटा उत्सवको रूपमा प्रहरी दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार भीमबहादुर लायो मगर निकै उत्साहका साथ दिवसलाई सफल बनाउन लागि रहेका छन् । उनले भने, ‘हाम्रो लागि प्रहरी दिवस एउटा उत्सव हो । यसलाई रमाइलो गरेर मनाउनुपर्छ ।’

प्रहरी सङ्गठनभित्र काम गर्दा पाउने दुःखलाई बिर्सिएर उत्सवको रूपमा दिवस मनाउने गरेको उनले सुनाए । उनले भने, ‘२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्ने बानी परेको छ ।’ जुनसुकै कामलाई पनि सकारात्मक रूपमा लिएर काम गर्दा सहज हुने उनको भनाइ छ । आफूले पाउने पारिश्रमिकको हिसाब नगरी कर्म क्षेत्रमा खटिने गरेको उनी बताउँछन् । लायो मगरले भने ‘बाहिर हेर्दा आहा भए पनि भित्र काममा हुने दुःख कसले बुझेको छ र ।’ न कुनै चाडपर्व, न कुनै समय सधैँ जनताको सेवामा लाग्नु पर्दा पाइने दुःखलाई बाहिरका कसले बुझ्ने ? उनले प्रश्न गरे । जे भए पनि प्रहरी सङ्गठनमा लागेर जनता र राज्यको सेवा गर्न पाउनु खुसीको कुरा रहेको उनले बताए ।

यस्तै उत्साही देखिँदै थिए प्रहरी सहायक हवल्दार चिजकुमार श्रेष्ठ । उनी प्रहरी सेवामा लागेको १६ वर्ष भएछ । उनमा प्रहरी सङ्गठनप्रतिको माया उत्तिकै छ । उनले भने, ‘सङ्गठनले दिएको जिम्मेवारी हर हालतमा पूरा गछौँ ।’ जस्तोसुकै दुःखमा पनि काम गर्ने बानी सङ्गठनले बनाइदिएको उनको भनाइ छ । प्रहरी सेवा भनेको नै कठिनभन्दा कठिन काम गर्नका लागि भएको उनले बताए । उनले भने, ‘प्रहरीमा प्रवेश गर्न सुरुआती कठिन हुन्छ । त्यसपछि तालिम र कार्यक्षेत्रमा खटिँदा झनै कठिन हुन्छ ।’ बाहिर देख्नेले सहज देखे पनि सङ्गठनको नियम कानुनमा बसेर काम गर्न कठिन हुने उनले बताए । उनले भने, ‘चाड पर्व, मेला, महोत्सव भन्ने कुरा सम्झने हो ।’ देश र जनताको सेवामा लाग्न पाउनु नै खुसीको कुरा रहेको उनको भनाइ छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित अन्य क्षेत्रमा भन्दा फौजीको काम कठिन नै हुने बताउँछन् । यहाँ काम गर्दा पर्ने हरेक समस्यालाई सहजताका साथ लिन सके हरेक काम गर्न सकिने उनले बताए । कुनै पनि फौजमा बाहिर देखेभन्दा कठिन हुने उनको भनाइ छ । घाम–पानी, घर–परिवार नभनी देश र समाजको सुरक्षामा खटिनु गर्वको कुरा भए पनि यहाँ काम गर्दा आइपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने उनले बताए । उनले भने, ‘२४ घण्टा कार्यक्षेत्रमा खटिनु पर्दा जटिल हुन्छ ?’ यसलाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । व्यवस्थापन गर्न सके प्रहरी पेसा राम्रो रहेको उनले बताए ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल प्रहरीले चाडपर्व, बिदा भन्न नपाउने बताउँछन् । अन्य कर्मचारी घरमा चाडपर्व मनाइरहँदा आफूहरू सडक वा ब्यारेकमा रहेर सेवामा जुट्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘परिश्रमको आधारमा पारिश्रमिकलाई तुलना गर्न सकिँदैन ।’ सरकारका अन्य कर्मचारीले दैनिक घडी हेरेर काम गर्न पाउने भए पनि प्रहरी जुनसुकै बेलामा पनि काममा खटिनुपर्ने उनको भनाइ छ । प्रहरी दिवसका अवसरमा प्रहरीको मनोबल बढाउनुपर्ने उनले बताए । थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता आफूहरूसँग रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस