माओवादीले पठायो चुनाव लक्षित ३ बुँदे विशेष सर्कुलर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

माओवादीले पठायो चुनाव लक्षित ३ बुँदे विशेष सर्कुलर


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर मातहतका कमिटीमा ३ बुँदे सर्कुलर पठाएको छ । 

पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार पठाएको सर्कुलरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी दुवै एउटै चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा रहेको स्मरण गराउँदै सबै प्रदेश र जिल्लाहरूले आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको एक नेताले जानकारी दिए ।  

दुवै पार्टीका प्रदेश, जिल्ला र स्थानीय स्तरका नेतृत्वका बीचमा विशेष समन्वय संरचना निर्माण गर्न पनि प्रचण्डले सर्कुलरमार्फत निर्देशन दिएका छन् । यस्तै गठबन्धनका निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरूमा सम्भव भएसम्मका प्रदेश र जिल्लामा दुवै पार्टीका प्रतिनिधित्व हुने गरी एकरूपतामा सहभागी हुन पनि प्रचण्डले निर्देशन दिएका छन् । 

यसैगरी पाँच दलीय गठबन्धनको असोज २७ गतेको निर्णयअनुसार अघि बढ्न माओवादीले मातहतका कमिटीलाई निर्देशन दिएको छ । जसअनुसार गठबन्धनका तर्फबाट संयुक्त अपिल प्रकाश गर्न समिति गठन गर्ने, गठबन्धनका दलहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठबन्धन गर्ने, जिल्लाको आवश्यकताअनुसार गठबन्धनका दलहरुबीच छलफल गरी आवश्यकताअनुसारका अन्य समितिहरू गठन गर्ने र सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताहरू सहभागी हुनेगरी कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त भेला आयोजना गर्ने निर्णय छ ।

Tags :
प्रतिक्रिया दिनुहोस