राजु गुरुङको रिट न्यायाधीश श्रेष्ठको एकल इजलासमा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राजु गुरुङको रिट न्यायाधीश श्रेष्ठको एकल इजलासमा


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ । शुक्रबार पेसी चढे पनि रिट निवेदकबाट स्थगित गराइएको रिट आइतबार न्यायाधीश श्रेष्ठको इजलासमा परेको हो ।

सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्था मात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

निर्वाचन निर्देशिकामा कालोसूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नसक्ने कुरा उल्लेख छ । तर आफू कालोसूचीमा नपरेको र निर्देशिकासमेत ऐनसँग बाझिएको भन्दै गुरुङले आफ्नो उम्मेदवारी कायम रहनुपर्ने भन्दै रिट निवेदन दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालयले गरेको उम्मेदवारी खारेजको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी उम्मेदवारी कायम राख्न माग गर्दै उनी अदालत पुगेका थिए ।

गुरुङको रिट न्यायाधीश श्रेष्ठको एकल इजलासको दोस्रो नम्बरमै परेको छ । गुरुङले निर्वाचन आयोग सहित निर्वाचन अधिकृतको कार्यालयलाई समेत विपक्षी बनाई रिट निवेदन दर्ता गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस