मुख्यमन्त्री राउतको पहिलो टार्गेटमा काँग्रेस, मागे मन्त्रीको राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री राउतको पहिलो टार्गेटमा काँग्रेस, मागे मन्त्रीको राजीनामा


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले काँग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले काँग्रेसबाट सरकारमा मन्त्री रहेकालाई राजीनामा दिन भनेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

केन्द्रमा रहेका काँग्रेसका प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीलाई हटाएको कारण जसपाले पनि सुरुमा काँग्रेसलाई टार्गेट गरेको छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई हालसम्म राजीनामा दिन भनेको छैन तर उनीहरू आफै राजीनामा दिएर गए जसपाले नरोक्ने स्रोतको दाबी छ ।

माओवादी केन्द्रबाट मधेस प्रदेश सरकारमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री रहेका भरत साहले आफूलाई मुख्यमन्त्री राउतले हालसम्म केही पनि नभएको कारण हाल राजीनामा दिने पक्षमा नरहेको बताए ।

मधेस प्रदेश सरकारमा काँग्रेसका तीन, माओवादी केन्द्रका राज्यमन्त्रीसहित दुई र नेकपा एकीकृत समाजवादीका राज्यमन्त्रीसहित दुई मन्त्री सहभागी छन् ।

काँग्रेसबाट मन्त्री हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा रहेका छन् ।

माओवादी केन्द्रबाट भने आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा एसको तर्फबाट उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादव छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस