गृह सचिवबाट सरुवा भएका पाण्डेले महिनौँ हुन लाग्दा पनि बुझेनन् रमाना  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृह सचिवबाट सरुवा भएका पाण्डेले महिनौँ हुन लाग्दा पनि बुझेनन् रमाना 


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । सरुवा भएको महिना दिन पुग्न लाग्दासमेत तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले रमाना बुझेका छैनन् । सरुवा निर्णय भइसकेपछि गृह सचिवकै हैसियतमा विदेशस्थित एउटा कार्यक्रममा भाग लिन पुगेका पाण्डे त्यसयता रमाना लिन मन्त्रालय फर्किएका छैनन् भने सरुवा भएको कार्यालयमा हाजिर हुन पनि गएका छैनन् । भाद्र २७ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं. १ का प्रमुख सचिव विनोद प्रकाश सिंहलाई गृह सचिवको जिम्मेवारी दिँदै पाण्डेलाई उपराष्ट्रपति कार्यालय पठाउने निर्णय गरेको थियो । 

सरुवा पत्र तयार हुनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा राख्ने कि भन्ने छलफल भए पनि पाण्डेले गृहमै बसिराख्न थप कसरत गरेपछि उनलाई उपराष्ट्रपति कार्यालय धकेलिएका थिए । 

सम्बन्धित समाचार : केही सचिवको सरुवा, गृहमा विनोद प्रकाश सिंह 

गृहमन्त्री बालकृष्ण खाँणले असाध्यै रुचाएका पाण्डेप्रति बालुवाटार यति कठोर भएर आयो कि उनलाई प्रधानमन्त्री कार्यालयमासमेत राख्न चाहेन । जसले गर्दा सरुवा बदर गर्नेदेखि बनी सकेको नै रोकाउने तथा अर्का सचिवले हाजिर गरेर कार्यारम्भै गरीसक्दासमेत पाण्डेलाई थमौती गर्ने गृहमन्त्री खाँणको प्रयास सफल हुन नसकेको प्रशासन सिंहदरवार उच्च स्रोत बताउँछ । 

‘पछिल्लो समय उहाँले गरेका निर्णयहरू पनि अलि बढी नै आलोचित भए’ ती स्रोतले भने, ‘रेडक्रसको महाधिवेशन, कर्मचारी सङ्गठनको तालाबन्दी, प्रमुख जिल्ला अधिकारीको सरुवा, प्रहरीतर्फ गरिएका निर्णयलगायतमा पनि बालुवाटारसम्मै कुरो पुगेपछि थप असहज भएको थियो’

व्यक्तिगत रूपमा शालीन भए पनि गृह प्रशासनको कम अनुभवका कारण प्रमुख जिल्ला अधिकारीहरूले गुनासो गर्ने अवस्था पुगेको ती अधिकारीले बताए । आज गरिएको निर्णय भोलि बदर हुने र कतिपय सिडियोहरुले रिपोटिङमा नै असहज भएको गुनासो गरेका थिए । 

गृह उच्च स्रोतका अनुसार पाण्डेले यो समाचार तयार पार्ने समयसम्म पनि रमाना बुझेका छैनन् । यससँगै शालीन स्वभावका मानिने सचिव पाण्डेको कर्मचारी वृत्तमा आलोचनासमेत हुन थालेको छ भने पूर्वप्रशासकहरुले यसलाई अनुशासनहीनताको संज्ञा दिएका छन् । 

सरुवा भएपछि पनि नगईकन बसिराख्नु अनुशासनहीन कार्य भएको पूर्वगृहसचिवसमेत रहेका उमेश प्रसाद मैनाली बताउँछन् । ‘त्यो त अनुशासनहीन भई हाल्यो नि’, मैनालीले भने ‘सचिव भई सकेको व्यक्तिले पनि त्यस्तो गर्छन् ?’ 

आफू गृह सचिवमा सरुवा भएर आउँदा र अन्त सरुवा भएर जाँदा सरसल्लाह गरेरै पत्र बुझे लगत्तै नयाँ आउनेलाई स्वागतसहित जाँदा बिदाबारी भई हिँडेको स्मरण गर्दै २०६३ सालमा आफू गृह सचिवमा सरुवा हुँदा त्यही दिन हाजिर हुनुपर्ने अवस्थामा पनि अत्यन्तै मिल्ने साथी बालकृष्ण प्रसाईँलाई आफू आउन्जेल पर्खिन भनेको र राम्ररी बिदाइ गरेर पठाएको मैनालीले सुनाए । 

‘तुरुन्तै हाजिर हुन आउनु पर्ने भयो, तपाई आउनुस्, म हिँडे भन्दा मैले पख्नुस् तपाई अहिले नहिँड्नुस् म आउँछु र राम्रोसँग बिदाइ गरेर पठाई दिन्छु भनेपछि मलाई स्वागत गर्नुभयो, मैले उहाँलाई बिदाइ गरी सोही दिन पठाएको थिए ।’ उनले भने । 

मैनालीपछि गोविन्द कुसुम आउँदा पनि दुई सचिवबिच सल्लाह भएर स्वागत र बिदाइ गरिएको उनको भनाई छ । गृह सचिव मैनालीलाई सरुवा गर्नकै लागि मात्र शनिवार क्याबिनेट बसेको थियो । आइतबार मन्त्रालय पुग्ने बित्तिकै पत्र बुझिसकेपछि मैनालीले सरुवा भई आउन लागेका गोविन्द कुसुमलाई फोनै गरेर आफू आजै हिँड्न लागेको भनेपछि सोही अनुसार आउने जाने भएको उनले बताए । 

‘अहिले त के भएको हो यस्तो ? सचिव जस्तो मान्छेले पनि सरुवा भइसकेपछि रमाना नै नबुझ्ने भन्ने हुन्छ ?’ उनले आश्चर्य मान्दै भने । 

सरुवा भएको खबर पाइसकेपछि बसिराख्नु कुनै पनि हिसाबले उपयुक्त नहुने अर्का पूर्वगृहसचिव गोविन्द कुसुमको भनाई छ । ‘यसले चेनअफ कमान्डमा ठुलो असर गर्छ’ उनले थपे, ‘निजामतीमा सरुवा भइसकेपछि विशेष परिस्थितिबाहेक बसिराख्नु उपयुक्त हुँदैन’

नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले सचिव पाण्डेले उपचारलगायत व्यक्तिगत कामका लागि भनेर आफूकहाँ निवेदन पठाएको बताए । उपचारका लागि भनेर बिदाको निवेदन मलाई दिनुभएको छ, मुख्यसचिव वैरागीले भने । 

यसबारे थप सचिव पाण्डेसँग नै बुझ्न खोज्दा सम्पर्क हुन सकेन । 

गृहमा रोक्दै नरोक्ने भए रक्षा मन्त्रालय खोजेका थिए पाण्डेले । तर प्रधानमन्त्री, मुख्यसचिवदेखि सेनालेसमेत रुचाइएका रक्षा सचिव किरण राज शर्मालाई सरुवा गरिहाल्नु पर्ने कुनै पनि कारण नरहेको संकेतपछि उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय खोजेका थिए । त्यहाँ पनि सिनियर सचिव वैकुण्ठ अर्याललाई ‘कहाँ पठाउने त !’ भनिएसँगै अन्तिम विकल्पका रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्म हुने भए मात्र जान्छु भन्नेमा पुगे तर त्यहाँ झन् पछिल्लो समय सबैभन्दा राम्रो र महत्त्वपूर्ण काम गरेका सचिव एक नारायण अर्याललाई हटाउँदा न्यायसङ्गत नदेखिने र आलोचना हुने भएपछि उनी उपराष्ट्रपति कार्यालय नै पुग्नु पर्ने भएको छ । 

त्यसो त सरुवा भइसकेपछि अस्ट्रेलियामा भएको एउटा कार्यक्रममा गृह सचिवकै हैसियतमा सहभागी हुन पुगेको विषयलाई लिएर कर्मचारी वृत्तमा पाण्डेको आलोचना सुरु भएको थियो तर पहिले नै निर्णय भइसकेको कार्यक्रममा त्यति अश्वभाविक नै त होइन, व्यक्तिको स्वभावमा छोड्नु पर्छ यस्ता कुरा भनेसँगै त्यो विषय त्यतिकै सेलायो तर त्यसपछि रमाना नलिएको विषयमा भने सचिवहरू बिचमै कानेखुसी हुन अझै छोडेको छैन । 

पाण्डेलाई गृह सचिवमा सरुवा गरिँदासमेत सचिवहरूबाटै विरोध भएको थियो । गृहकै क्याडरहरूलाई पन्छ्याएर अनुभव नै नभएकालाई गृह दिँदा तत्काल सरकारलाई नतिजा निकाल्न कठिन हुने तथा दिर्घकालीनरुपमा सङ्गठनलाई असर पर्ने कुरा राखेका थिए । 

स्थायी सरकारमा राजनीति प्रवेश गराइएसँगै निजामतीमा बेथितिहरू बढ्दै जान थालेको देखिन्छ । नियमित प्रक्रियाजस्तो विषयमा पनि मनपरी निर्णय हुने त छँदै छ, बाटैबाट पत्रहरू परिवर्तन हुने गरेका घटना पनि अब नौला रहेनन् । क्याडर, अनुभव, क्षमता त एकादेशको कथा बनाई बनाउँदै लैजाँदै गर्दा हुँदा हुँदा सर्वोच्च पदमा आसीन उच्च प्रशासकहरूले नै महिनौँसम्म रमाना नबुझ्ने अवस्थाले हाम्रो कर्मचारीतन्त्र कुन अवस्थामा पुगेको छ भनेर आँकलन गर्न धेरै समय खर्च गरिरहनु पर्दैन । 

Tags :
प्रतिक्रिया दिनुहोस