१ अर्ब युनिट विद्युत् भारतर्फ निर्यात हुँदा झण्डै ८ अर्ब आम्दानी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१ अर्ब युनिट विद्युत् भारतर्फ निर्यात हुँदा झण्डै ८ अर्ब आम्दानी


२५ आश्विन २०७९, मंगलबार


काठमाडौँ । भारतर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि  मंगलबारसम्म अर्थात् २५ असोजसम्ममा  १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको हो ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ ।

यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट  ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस