आयल निगमको मासिक नाफा २ अर्ब, घटाइएन मूल्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आयल निगमको मासिक नाफा २ अर्ब, घटाइएन मूल्य


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेपाल आयल निगमले मासिक २ अर्ब रुपैयाँ भन्दा बढी नाफा गर्ने प्रक्षेपण गरेको छ । १५ असोजमा भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार इन्धनको खरिद लागत मूल्यमा भारी गिरावट आउनु र उपभोक्ता मूल्य नघटाएपछि निगमको नाफा बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण अघिल्लो पटक भन्दा घटेर आईओसीबाट नयाँ मूल्य निगमलाई प्राप्त भएको थियो । नयाँ मूल्यअनुसार पेट्रोलको लागत मूल्य प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा, डिजेलमा १४ रुपैयाँ र हवाई इन्धन १६ रुपैयाँले मूल्य घटेको छ ।

यस्तै खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर ५२ रुपैयाँले घटेर नयाँ मूल्य प्राप्त भएको निगमले जनाएको  छ ।

निगमका अनुसार नयाँ मूल्यपछि अहिले निगमलाई पेट्रोलमा १६ रुपैयाँ, डिजेल ९ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५१ रुपैयाँ नाफा छ । यस्तै ग्याँसको घाटा घटेर प्रतिसिलिन्डर ३२५ रुपैयाँमा झरेको छ ।

मूल्य समायोजनबारे निगमले कुनै निर्णय नगरेको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । निगम केही नाफामा गएको देखिए पनि तत्काल यो दिगो हुने अवस्था नरहेको उनले बताए । ‘एक सातादेखि निगम नाफामा छ, तर फेरि अन्तर्राष्ट्रिय मूल्य बढेको छ ।

निगम सञ्चालक समिति अध्यक्ष रहने वाणिज्य तथा आपूर्ति सचिव तोयम राय भर्खरै मन्त्रालयको जिम्मेवारीमा आएको र निगम बोर्ड बैठक समेत नबसेको थानीको भनाइ छ । मूल्य समायोजनबारे अब बस्ने बोर्ड बैठकले नै तय गर्ने उनको भनाइ छ ।

विगतको बक्यौता र अहिलेको खरिद बिक्री समेत गरेर एक महिनामा भारतीय आयल कर्पोरेसनलाई ४३ अर्ब रुपैयाँ भुक्तानी गर्नु पर्ने निगमको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस