भीम रावल र घनश्याम भुसाललाई गठबन्धनबाट चुनाव लड्न प्रस्ताव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भीम रावल र घनश्याम भुसाललाई गठबन्धनबाट चुनाव लड्न प्रस्ताव


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट निर्वाचन लड्न आग्रह गरेका छन् । रावल अछाम १ तथा रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ती क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग्रह गरेका हुन् । 

रावल र भुसाल दुवै अहिले आआफ्ना जिल्लामा छन् । भुसालले शनिवारै एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । उनले ४५ वर्षदेखि एमालेमा रहेर सम्पूर्ण सामर्थ्य लगाएपनि एमालेमा नीति र विधि पुनर्स्थापना नहुने देखेर एमाले छाड्ने निष्कर्षमा पुगेको बताएका छन् । 

एमाले छाडेको घोषणासँगै उनले राष्ट्रको सर्वोपरि हितका लागि उत्तिकै सक्रिय रहने पनि गरेका छन् । 

भुसालको यो भनाइबाट उनी राजनीतिमा कुनै न कुनै रूपमा सक्रिय रहने प्रस्ट बुझिएको छ । तर तत्काल कुन पार्टीमा आबद्ध हुने भन्नेबारे भने उनले खुलाएका छैनन् । तर भुसाल निकट स्रोतहरूका अनुसार भुसाललाई सत्ता गठबन्धनले गठबन्धनमा आबद्ध दलका चुनाव चिह्नबाट चुनाव लड्न आग्रह गरिरहेका छन् । 

नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र दुवै दलका शीर्ष नेताले चुनाव लड्न आग्रह गरिरहेको तर उनले अहिलेसम्म कुनै निर्णय नगरेको भुसाल निकट स्रोतको भनाई छ । यता माओवादी र समाजवादीको सल्लाहअनुसार नै रुपन्देही १ मा भुसाललाई चुनाव लडाउन उपयुक्त हुने गठबन्धनमा छलफल भएको छ । 

यस्तै रावललाई पनि गठबन्धनका नेताहरुले आफ्नो कित्तामा आएर निर्वाचन लड्न आग्रह गरेको बुझिएको छ । तर रावलले मुख खोलिसकेका छैनन् । 

भुसालले पार्टी छोडेको घोषणा गरिसकेको अवस्थामा रावलले पनि एमाले छोड्ने तयारी गरेको रावल निकट स्रोतले दाबी गरेको छ । रावल र भुसाल दुवै गत मंसिरमा सम्पन्न एमाले महाधिवेशनमा ओलीको चाहना विपरीत अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनेर पराजित भएका थिए । 

यसैबीच रावल र भुसालबारे काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ । 

शनिबार दिउँसो तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । चुनाव लड्ने हुँदा तत्काल रावल र भुसाल दुवैको विकल्प स्वतन्त्र चुनाव लड्ने कि कुनै दल वा गठबन्धनबाट लड्ने भन्ने दुई विकल्प छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस