ओली सरकार ढाल्न भूमिका खेलेका रावल, पाण्डे, भुसाल र भट्टराईको टिकट अझै अनिश्चित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओली सरकार ढाल्न भूमिका खेलेका रावल, पाण्डे, भुसाल र भट्टराईको टिकट अझै अनिश्चित


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । एमालेका धेरै नेताहरू उम्मेदवारी दर्ता गर्न टिकट लिएर जिल्ला पुगिसकेका छन् । तर, तत्कालीन केपी शर्मा ओली सरकार ढाल्न भूमिका खेलेका मुख्य नेताहरूको टिकट भने अझै निश्चित भएको छैन । 

पूर्वउपाध्यक्ष भीम रावल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्व उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईलगायतको टिकट अनिश्चित नै रहेको एक नेताले जानकारी दिए । 

एमाले अध्यक्ष ओलीले अरू अधिकांश नेताहरूलाई चुनावको तयारी गर्न भनिसकेपनि यी चारसहित रवीन कोइराला, दीपकप्रकाश भट्टलाई चुनावी तयारीबारे केही नभनेको ती नेताले बताए । 

पूर्वउपाध्यक्ष रावलले सबै कमिटीबाट आफू एकल सिफारिस गरेकाले टिकट नदिए केही निर्णय लिने प्रतिक्रिया दिएका छन् । 

उनको निर्वाचनबाट राप्रपाका नेता दीपक बोहोरालाई दिने एमालेको तयारी रहेको बताइएको छ । 

सचिव भट्टराईले टिकटको टुङ्गो नभए पनि शुक्रवार सामाजिक सञ्जालमार्फत असोज २३ गते उम्मेदवारी दर्ताका लागि ताप्लेजुङको फुङलिङ बजारमा उपस्थित हुन आह्वान गरेका छन् । 

उपाध्यक्ष पाण्डे भने  मातृशोकमा छन् ।

रावल अछाम १ बाट सर्वसम्मत सिफारिस भएका थिए । भुसाल रुपन्देही १ र ३, पाण्डे चितवन १ र भट्टराई ताप्लेजुङबाट उम्मेदवारको लागि सिफारिस भएका थिए । 

दीपक प्रकाशको क्षेत्रमा नेतृ निरुदेवी पाललाई टिकट दिने बताइएको छ । झापा १ बाट चुनाव लड्न इच्छा राखेका रवीन कोइरालाले पनि टिकट पाउने सम्भावना कम रहेको ती नेताले बताए । 

तत्कालीन ओली सरकार ढाल्नका लागि भूमिका खेलेकाहरूलाई ओलीले टिकट दिन आनाकानी गरिरहेको नेताहरू बताउँछन् । ओलीले सार्वजनिक रूपमै पार्टीको अनुशासनबाहिर गएकाहरूले आममाफी माग्नुपर्ने बताउने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस